पेरिस सम्झौताबाट अमेरिका अलग्गिएको राष्ट्रसंघलाई औपचारिक पत्र

डिसी नेपाल
१९ कार्तिक २०७६ १२:४३

संयुक्त राष्ट्रसंघ। संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ।

केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने भन्दै विश्वका नेताहरुको सहभागितामा बनाइएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए।

प्राप्त समाचारअनुसार यस प्रयोजनका लागि संयुक्तराज्य अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मङ्गलबार औपचारिक पत्र पठाएको हो।
यस निर्णयसम्बन्धी आफ्नो जानकारीका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मङ्गलबार पत्र लेखेर औपचारिक रुपमै जानकारी गराएको राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गरेका छन्। उनले भनेका छन्– महासचिव गुटर्रेसले संयुक्तराज्य अमेरिकाले सन् २०१५ डिसेम्बर १२ मा गरेको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र प्राप्त गर्नुभएको छ ।
अमेरिकाले उक्त सम्झौतामा भएका प्रावधानहरुको पालना गर्न नसक्ने भन्दै आएकोमा नोभेम्बर ४ देखि आफू अब सो सम्झौताबाट नै

पछि हटेको औपचारिक रुपमा पत्र आएको प्रवक्ताले जानकारी दिए। यस सम्झौतामा भएका कतिपय प्रावधानका कारणले अमेरिकालाई अनावश्यक रुपमा आर्थिक भार थपेको अमेरिकाको भनाई थियो। यसैकारण देखाएर अमेरिकाले सो सहमतिको कार्यान्वयनमा जान नसक्ने बताउँदै आएको थियो।

सन् २०१५ मा सम्पन्न भएको सो सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो।

करिब एक महिना अघि नै अमेरिकाको यस योजनाबारे संयुक्त राष्ट्रसंघलाई अमेरिकाले जानकारी गराएको थियो। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघलाई यस बारेमा औपचारिक रुपमा नै जानकारी दिएका थिए।

जालवायू परिवर्तनका क्षेत्रमा ऐक्यबद्ध भएर लड्ने प्रतिवद्धता व्यक्त भएको सो सम्झौतामा विश्वका अमेरिकासहितका विश्वका एक सय ८८ देश सहभागी छन्।

राष्ट्रसंघीय प्रवक्ताले अमेरिकाले दिएको सो पत्र प्राप्त भएकोले राष्ट्रसंघले सोही बमोजिम काम गर्ने भन्दै यही नोभेम्बर ४ देखि नै अमेरिका सो सम्झौताबाट अलग भएको कुरा प्रावधान कार्यान्वयनमा आउने जानकारी दिएका छन्। रासस/सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *