आर्सनलले जाकालाई कप्तानबाट हटायो
एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले कप्तान ग्रानिट जाकालाई कप्तानबाट हटाएको छ । पछिल्लो समय निकै आलोचित बनेका जाकालाई आर्सनलले कप्तानबाट हटाएको हो ।
मुख्य प्रशिक्षक युनाई इम्रीले जाकालाई कप्तानी पदबाट मुक्त गरिएको जनाएका छन् । ‘मैले जाकासँग भेट गरे र उसलाई भने तिमी कप्तानमा छैनौँ’ इम्रीले भने, ‘उनले मेरो निर्णयलाई स्वीकार गरेका छन् ।’
इम्रीले आर्सनलको कप्तानी पिएरे एम्रिक औबामियाङलाई दिएका छन् । प्रिमियर लिग अन्तर्गत आइतबार क्रिष्टल प्यालेसविरुद्धको खेलमा समर्थकविरुद्ध खराब व्यवहार देखाएका कारण जाका आलोचित बनेका थिए । उक्त खेलमा आर्सनल २-२ गोलको बराबरीमा रोकिएको थियो ।
खेलको ६१ औं मिनेटमा सब्सिच्युड भएर मैदानबाट बाहिरिदै गर्दा जाका आफ्नै टिमका समर्थकसँग आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । किनकी जाका बाहिरिँदै गर्दा आर्सनलका समर्थकले खुशीमा हुटिङ गरेका थिए ।
आफुविरुद्ध हुटिङ गरेपछि जाकाले समर्थकतर्फ कान थापेर थप उक्साउने प्रयास गरेका थिए । जसको कारण जाका निकै आलोचित बनेका छन् । चौतर्फी आलोचना भएपछि मिडफिल्डर जाकाले माफी मागिसकेका छन् ।
Facebook Comment