कामदारको श्रम शोषण गरेको भन्दै लिभरपुलले कतारको पाँचतारे होटल बहिष्कार गर्यो

डिसी नेपाल
२० कार्तिक २०७६ १३:०८

एजेन्सी। बेलायत फुटबल क्लव लिभरपुलले कतारको पाँचतारे होटल बहिष्कार गरेको छ । यही डिसेम्बरमा हुने क्लव विश्वकप खेल्नको लागि कतार जान लागेको लिभरपुललाई यहाँ पाँचतारे विलासी होटल दिइएको थियो । तर, होटलभित्र मानव अधिकार उल्लंघनका श्रृंखलाबद्ध घटनाहरु भएको थाहा पाएपछि लिभरपुलले होटल बहिष्कार गरेको हो ।

गत सिजन च्याम्पियन्स लिगको विजेता बनेपछि लिभरपुल क्लव विश्वकपको लागि छनोट भएको थियो । लिभरपुलको टिम यही डिसेम्बरमा कतार जाने कार्यक्रम छ । टिमका लागि कतारको पर्ल कतारमा रहेको कृत्रिम टापुमा अवस्थित विलासी पाँचतारे होटल ‘मार्सा मालाज केम्पिन्जकी’ अफर गरिएको थियो । तर, यसको विगतका नकारात्मक कुराहरु खुलेपछि क्लवले बहिष्कार गरेको हो ।

अक्टोबर २०१८ मा अन्तर्राष्ट्रिय मिडिया ‘द गार्डियन’ले गरेको एक अनुसन्धानमा मार्सा मालाज केम्पिन्जकीमा आप्रवासी कामदारलाई निर्धारित न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक दिएर काममा लगाइएको रिपोर्ट आएको थियो। यहाँ सुरक्षा गार्डहरुले ५० डिग्री सेन्टिग्रेडको तापक्रममा १२ घण्टाको सिफ्टमा काम गरेर मात्रै ३८ कतारी रियल प्रतिदिन पारिश्रमिक पाउने गरेको रिपोर्टमा खुलासा गरिएको थियो ।

बेलायती मिडिया द एथलेटिकका अनुसार लिभरपुलले फिफा र कतारी अधिकारीहरुलाई यस विषयमा जानकारी गराइसकेको छ । लिभरपुलले कतारमै अर्को होटलमा बस्ने निर्णय गरेको समाचारमा जनाइएको छ । सिधै सेमिफाइनलमा पुगेको लिभरपुलले आफ्नो पहिलो खेल यही डिसेम्बर १८ मा एजुकेसन सिटी स्टेडियममा खेल्दैछ । तेस्रो स्थानको खेल र फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *