निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन हुन्छ : अध्यक्ष दाहाल

डिसी नेपाल
२१ कार्तिक २०७६ २३:०७

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

नेकपा कास्की–प्रचारप्रसार उपसमिति, निर्वाचन परिचालन उपसमितिद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट लोकतान्त्रिक अभ्यासको रुपमा निर्वाचन सम्पन्न हुनुपर्ने बताएका हुन् । अध्यक्ष दाहालले राजनीतिक स्थिरता र समृद्ध नेपालको निर्माणका लागि यो उपनिर्वाचन खुड्किलो हुने उल्लेख गरे ।

उपनिर्वाचनका लागि मुलुकका विभिन्न स्थानमा उत्साहवद्र्धक ढङ्गले मनोनयन दर्ता भएकाले निर्वाचन पनि उत्साहका शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

फरक प्रशंगमा भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्साभित्र पारेको सन्दर्भमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भौगोलिक अखण्डाको विषयमा नेपाली एकजुट रहेको र लिपुलेक हाम्रो भएकाले यस विषय सह्य हुन नसक्ने दृढता प्रकट गरे ।

उनले विषयमा सरकारको पनि धारणा आइसकेकाले कूटनीतिक माध्यमबाट यसलाई सच्याउनुपर्ने विषयमा जोड दिए । उनले भने, “भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष लिपुलेकको विषयमा कुरा उठाएको थिए र अहिले भारतले नक्सामा पारेको विषयमा हाम्रो गम्भीर आपत्ति छ ।”

प्रदेश प्रमुखलाई हटाइएको सन्दर्भमा अध्यक्ष दाहालले नयाँ सरकार गठन भएपछि नैतिकरुपमा राजीनामा गर्नुपर्ने नगरिएको एवं राजनीतिक संस्कार प्रदर्शन गर्नुपर्ने नगरिएको उल्लेख गर्दै दुई तिहाइको सरकारले उदार र लचिलो भएको कारणले दुई वर्ष परिवर्तन नगरेको स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *