अलमलमा नेकपा, पार्टी माैन, व्यक्तिगत धारणा सार्वजनिक गर्दै नेताहरु

डिसी नेपाल
२२ कार्तिक २०७६ ७:२८

काठमाडौं। भारतले नेपालको भूमिसहित आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरेपछि सत्तारुढ दल नेकपा अप्ठ्यारोमा परेको छ।
सत्तारुढ दल नेकपाका नेताहरुले शुक्रबार विहानसम्म व्यक्तिगत धारणा सार्वजनिक गरेका छन् भने पार्टीले औपचारिक धारणा सार्वजनिक गर्न सकेको छैन।

नोभेम्बर २ मा भारतको नक्सा जारी भएपछि तिखो प्रतिक्रिया दिनेमा भीम रावल पहिलो नेता हुन्। त्यसपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराईले रिपोटर्स क्लवमा यो विषयमा बोलेका थिए। सोही दिन परराष्ट्र मन्त्रालयले पनि ‘झारा’ टार्ने विज्ञप्ति जारी गरेको थियो।

तर, शुक्रबार भारतले नक्सा जारी गरेको ६ दिन पूरा भइसक्दा पनि नेकपाले औपचारिक धारणा आश्चार्यजनक देखिएको मानिएको छ। अमेरिकाले भेनेजुएलाका प्रतिपक्षी नेता ग्वाइदोलाई राष्ट्रपतिको मान्यता दिएपछि तत्काल विज्ञप्ति जारी गर्ने नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसम्म यो विषयमा विज्ञप्ति जारी गरेका छैनन्।

नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले डिसी नेपालसँग पार्टीमा छलफल नभएकाले यो विषयमा पार्टीको धारणा सार्वजनिक नगरिएको बताएका थिए। उनले सरकारको धारणा नै आफ्नो पार्टीको पनि धारणा हुने बताएका थिए।

सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बास्कोटाले बिहीबार भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य हुने बताएका थिए। यहीबीचमा नेकपा वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल भने अगाडि देखिएका छन्।

बिहीबार साँझ पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गर्दै उनले भारतको नयाँ नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गरेका छन् ।

खनालले अतिक्रमित भूमिबारेमा ऐतिहासिक कालदेखिका तथ्याङ्क प्रस्तुत गरी भारत सरकारसंँग वार्ता र कूटनीतिक ढङ्गले समस्याको समाधान गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन्।

‘नेपालको पश्चिमोत्तर सिमाना सुगौली सन्धिले नै निर्धारण गरिसकेको छ । त्यो सिमाना चलाउने कसैलाई पनि अधिकार छैन’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सिमाना स्पष्टतः महाकाली नदीबाट निर्धा्िरत भइआएको छ। महाकाली नदी भनेको लिम्पियाधुराबाट निस्केको कालीनदी (कुटी याङ्दी) हो । त्यसपूर्वका नापी, गुञ्जी र लिपुलेकलगायत भूभाग नेपाली भूभाग हुन् ।’ भारतले सार्वजनिक गरेको भनिएको नक्शामा नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक आफ्नो भूमि राखी सार्वजनिक गरेपछि त्यसको विराध हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *