निर्णायक टि–२० मा सास रोकिने रोमाञ्च, विश्वकप फाइनलको झल्को
काठमाडौं। इङल्याण्ड र न्यूजिल्याण्डबीचको टि२० सिरिजको पाँचौं तथा निर्णायक टि–२० को अन्तिम ओभरमा सास रोकिने रोमाञ्च देखियो । यो खेलको अन्तिम ओभरमा गएको एकदिवसीय विश्वकपको फाइनलको झल्को देखियो । एकदिवसीय विश्वकपको फाइनल पनि इङल्याण्ड र न्यूजिल्याण्डबीच नै भएको थियो ।
आजको खेल जसले जित्यो उसैले सिरिज जित्ने थियो । सिरिजमा यसअघिका ४ टि–२० मध्ये २ खेल इङल्याण्डले र २ खेल न्यूजिल्याण्डले जितेका थिए । पहिलो र चौथो टि–२० इङल्याण्डले जितेको थियो भने दोस्रो र तेस्रो टि–२० न्यूजिल्याण्डले जितेको थियो । त्यसैले पनि सिरिज जित्नको लागि आजको खेल जित्नैपर्ने दबाब दुवै टिममा थियो ।
वर्षाले अवरुद्ध भएर ११ ओभरमा छोट्याइएको खेलमा इङल्याण्डले टस जितेर न्यूजिल्याण्डलाई ब्याटिङका लागि निम्त्यायो । मार्टिन गुप्टिलको २० बलमा ५० रन, कोलिन मुनरोको २१ बलमा ४६ रन र टिम सेफर्टको १६ बलमा ३९ रनको तुफानी इनिङको मद्दतमा न्यूजिल्याण्डले ११ ओभरमा १४६ रनको बलियो स्कोर खडा गर्यो ।
१४७ रनको लक्ष्य पच्छ्याएको इङल्याण्डले सुरुमै २ विकेट गुमायो । ९ रनको स्कोरमै टम बान्टन र जेम्स भिन्सलाई गुमाइसकेको इङल्याण्डका लागि कप्तान इयान मोर्गनले केही ठूला सट खेले तर उनी पनि ७ बलमा १७ रन बनाउँदै आउट भए । त्यसपछि जोनी बेयरिस्टो र साम कुर्रानले इङल्याण्डलाई सम्हाल्दै ७ ओभरमा १०० रनको स्कोर बनाए र खेल इङल्याण्डको पक्षमा ढल्काए ।
सातौं ओभरको अन्तिम बलमा जोनी बेयरिस्टो आउट भएपछि भने न्यूजिल्याण्डले कमब्याक गर्यो । त्यसपछि साम कुर्रान, लेविस ग्रेगरी लगातार आउट भए । अन्तिम ओभर बाँकी छँदा इङल्याण्डलाई जीतको लागि १६ रन चाहिएको थियो । जिम्मी निशामको पहिलो बलमा साम बिलिङसले २ र दोस्रो बलमा १ रन लिए । तेस्रो बलमा टम कुर्रान आउट भए ।
इङल्याण्डलाई अन्तिम ३ बलमा १३ रन चाहिएको थियो र नयाँ ब्याट्सम्यान क्रिस जोर्डन स्ट्राइकमा आए । जोर्डनले चौथो बलमा छक्का, पाँचौ बलमा २ रन र अन्तिम बलमा चौका हान्दै खेल बराबरी गरिदिएपछि अन्ततः खेल सुपरओभरमा गयो । यो सिरिजको अन्तिम र निर्णायक टि–२० भएकाले सुपरओभर खेलाएर निर्णयमा पुगिएको थियो । सुपरओभरमा इङल्याण्डले १७ रन बनाउँदै १८ रनको लक्ष्य दियो तर न्यूजिल्याण्डले मात्रै ८ रन बनाउन सक्यो र सिरिज इङल्याण्डले जित्यो ।
यो खेलले विश्वकप फाइनलको झल्को दिएको थियो । विश्वकप फाइनलमा पनि इङल्याण्ड र न्यूजिल्याण्ड नै खेलेका थिए ।त्यतिबेला पनि निर्धारित ५० ओभरको खेल बराबरी भएपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभर पनि बराबरी भएपछि अन्ततः बाउण्ड्री गणनाका आधारमा इङल्याण्डलाई विजेता घोषित गरियो र न्यूजिल्याण्ड दुर्भाग्यपूर्ण तरिकाले उपाधिबाट बञ्चित हुन पुगेको थियो । त्यतिबेला न्यूजिल्याण्डको कप्तानी गरेका अभागी कप्तान केन विलियमसन भने चोटका कारण यो सिरिज खेलेका थिएनन् ।
Facebook Comment