हङ्कङ प्रदर्शनमा प्रहरीले गोली चलायो
हङ्कङ (एजेन्सी) । हङ्कङमा सोमवार बिहान भएको विरोध प्रदर्शनको क्रममा प्रहरीले कम्तीमा एक जनामाथि गोली चलाएको छ । फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो । अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन् ।
मुठभेड भइरहँदा प्रहरीले थप दुई गोली चलाएपनि भिडिओमा त्यो गोली कसैलाई लागे नलागेको प्रष्ट छैन । गोली लागेको व्यक्तिको शल्यक्रिया भइरहेको र उनको अवस्था गम्भीर रहेको अस्पतालसम्बन्धी अधिकारीले बताएका छन् । ती अधिकारीले अरूलाई गोली लागेको आफूलाई थाहा नभएको बताए । जून महिनामा विरोध प्रदर्शन सुरु भएयता प्रहरीले गोली चलाएको यो तेस्रो पटक हो । पहिलो पटक अक्टोबर १ मा र दोस्रो पटक अक्टोबर ४ मा प्रहरीले गोली चलाएको थियो । सोमवार प्रदर्शनकारीहरूले उत्तरपूर्वी क्षेत्रको साई वान होमा सडकमा अवरोध गर्ने प्रयास गरेका थिए ।
हङ्कङभरी नै मुठभेड भएका विवरणहरू सञ्चारमाध्यमहरूमा आएका छन् । अनलाइनमा देखिएको एक भिडिओमा एउटा प्रहरीको मोटरसाइकल जानीजानी प्रदर्शनकारीहरूसँग ठोक्काएको देखिएको छ । चाइनीज विश्वविद्यालयमा प्रदर्शनकारीहरूले ढुङ्गाले प्रहार गरेपछि प्रहरीले रबरको गोली प्रहार गरेका छन् । अन्यत्र प्रहरीले अश्रुग्यास प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सडकमा अवरोध खडा गरेका कारण लामो ट्राफिक जान देखिएको छ । थुप्रै विश्वविद्यालयहरूले सोमवारको कक्षा रद्द गरेका छन् । गएको शुक्रवारअश्रुग्यास प्रहारपछि विद्यार्थीहरू भाग्दै गर्दा एक एकजना विद्यार्थीको मृत्यु भएपछि प्रदर्शन उग्र भएको हो ।
गएको जुनमा हङ्कङ संसदमा एक विवादास्पद सुपुर्दगी सम्बन्धि विधेयक दर्ता भएपछि पहिलो पटक सो विधेयक विरुद्ध प्रदर्शन शुरु भएको थियो । सो विधेयकमा गम्भीर अपराधका अभियुक्तलाई हङ्कङबाट चीनको मुख्य भूमिमा प्रत्यारोपण गर्न सकिने व्यवस्था थियो । सो व्यवस्थाले हङ्कङमा बेइजिङको नियन्त्रण बढाउने भन्दै शुरु भएको आन्दोलन सो विधेयक फिर्ता भइसक्दा पनि अझै जारी छ । विधेयक विरुद्ध भएको आन्दोलनले उग्र रुप लिन थालेपछि बेइजिङ निकट मानिने हङ्कङ काउन्सिलकी अध्यक्ष लामले सो विधेयक खारेज नै गर्नुपरेको थियो । तर, लोकतन्त्रको माग गर्दै आन्दोलन जारी छ । हङ्कङमा प्रदर्शनकारीहरु पनि प्रहरीमाथि आक्रामक हुने गरेका छन् । तर, हङकङ प्रहरीले निकै संयमता अपनाइरहेको बताइन्छ ।
हङ्कङ चीनको एक अंग भए पनि एक देश दुई नीतिअनुसार हङकङलाई विशेष स्वायत्तता छ । बेलायतबाट ९० को दशकमा स्वतन्त्र भएर चीन अधिनस्थ आएको हङकङमा लोकतान्त्रिक व्यवस्था छ जबकी चीन एकदलीय शासन व्यवस्था भएको मुलुक हो । तर, पछिल्ला दिनहरुमा बेइजिङले हङकङमाथि नियन्त्रण बडाउन खोजेको आरोप लागिरहेको छ । तर, बेइजिङले भने हङकङमा विदेशी हस्तक्षेप भएको र त्यसको कडा जवाफ दिने बताउँदै आएको छ । हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन विरुद्ध लाग्नेहरुको हड्डी भाँचिदिने कडा अभिव्यक्ति दिएका थिए । तर, हालसम्म हङकङ प्रदर्शनमा चिनियाँ जनमिलिसिया परिचालन भएका छैनन् ।
Facebook Comment