म कहिँ हराएको छैन, गैरआवासीय नेपालीका मुद्दामा मेरो सक्रियता अरु बढ्नेछ: आचार्य

डिसी नेपाल
२६ कार्तिक २०७६ १४:२१

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौँ विश्वसम्मेलनमा अध्यक्षका प्रत्यासी रहेका कुल आचार्यले आफ्नो पक्षमा चुनावी नतिजा नआए पनि गैर आवासीय नेपालीको मुद्दाबाट पछाडि नहट्ने बताएका छन्। गएको अक्टोबरमा काठमाडौंमा सम्पन्न संघको निर्वाचनमा आचार्यलाई कुमार पन्तले २ सय भोटले पछि पार्दै अध्यक्षमा विजयी भएका थिए।

आचार्यले मंगलबार फेसबुकमा स्टाटस् लेख्दै संघमा अहिले आफू सक्रिय कार्यकारी भूमिकामा नभएपनि गैरआवासीय नेपालीका मुद्दामा आफ्नो सक्रियता नघट्ने बताएका हुन्। ‘म कहिँ हराएको छैन । गैर आवासीय नेपालीहरूका मुद्दालाई सशक्त रुपमा गति दिन सधैँ मेरो साथ र समर्थन रहने छ । सामाजिक कामहरूमा मेरो सक्रियता कम हुने छैन, बरु अरु बढ्ने छ।’ उनले फेसबुक स्टाट्समा लेखेका छन्।

नेतृत्वमा पराजय भोगेका उनलाई वर्तमान कार्यसमितिले सल्लाहकारको जिम्मेवारीमा राखेको छ।

यस्तो छ, आचार्यको फेसबुक स्टाटस्–

गैर आवासीय नेपाली संघको चुनाव सम्पन्न भएसंगै भोलिपल्ट नै काठमाडौँमै धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गर्यौं । चुनावमा संसारभरिबाट आउनु भएका एनआरएन साथीहरुको मन र मत जित्न सफल भएकोमा म ढुक्क छु। कस्तो वातावरणमा चुनाव गराइयो र कसरी नतिजा घोषणा गरियो भन्ने कुरा विस्तारै खुल्दै जाला, अहिले त्यो भन्दा बढी न भनौं। संघमा अहिले मेरो कुनै सक्रिय कार्यकारी भूमिका छैन। नयां कार्यसमितिले आफ्ना योजनाहरु अगाडी सारी रहेको छ। जित्ने साथीहरुका उत्सव सकिएका छैनन्। मैले संयम र धैर्य कायम गर्नु मेरो कर्तब्य ठानेको छु । एकाध पारिवारिक जमघट बाहेक अन्य कार्यक्रमहरुमा गएको छैन । मेरा बिगत ६ महिनादेखि थाती रहेका परिवार तथा व्यवसायजन्य कामहरुलाई समय दिइ रहेको छु।

केही साथीहरु, जो चुनावमा भावनात्मक रुपमा नै लाग्नु भएको थियो, वहाँहरुले विगत झैँ सक्रिय बनोस्, सबैको नेतृत्व गरोस् भन्ने चाहना राख्नु भएको छ । हामीसंग बसेर मन्थन गर्दियोस् , हाम्रा पीडा बुझीदियोस भन्ने मनसाय राख्नु भएको छ, यो माया र चाहप्रति म नतमस्तक छु ।
म कहिँ हराएको छैन । गैर आवासीय नेपालीहरुका मुद्दालाई सशक्त रुपमा गति दिन सधैं मेरो साथ र समर्थन रहने छ।

सामाजिक कामहरुमा मेरो सक्रियता कम हुने छैन, बरु अरु बढ्ने छ। सबै एनआरएनहरु अटाउने संगठन बनाउने मेरो अभियानमा साथ, सहयोग र समर्थन दिनुहुने सबै मित्रहरु प्रति फेरी एकपटक हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु। आगामी दिनहरुमा पनि तपाई सबैको स्नेह र सद्भाव प्राप्त भै रहने विश्वास लिएको छु।

कुल आचार्य




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *