कात्तिक लगत्तै मन्त्रिपरिषद पुनर्गठन, यी नेताले पाउँदैछन् अवसर

डिसी नेपाल
२७ कार्तिक २०७६ ७:३१

काठमाडौं। दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी ओली एकपछि अर्को ‘बोल्ड’ निर्णय लिन थालेका छन्।

प्रधानमन्त्रीका सल्लाहकारले उचित सल्लाह नदिएको आरोप लाग्दै आएपछि प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सदस्यलाई परितर्वन गर्न लागेका छन्। प्रधानमन्त्रीको सचिवालयमा रहेको धेरैजसोले राजीनामा दिइसकेका छन्।

प्रधानमन्त्री ओलीले अब मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन्। कतिपय मन्त्रीले प्रधानमन्त्रीको स्पिरिट अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीले केही मन्त्री परिवर्तन गरी नयाँ र सक्षमलाई अवसर दिने तयारी गरेपछि नेकपाभित्र मन्त्री बन्न होडबाजी सुरु भएको छ।

मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच सघन छलफल भइरहेको छ। प्रचण्डले यसअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने बताउँदै आएपनि प्रधानमन्त्री ओलीले त्यसलाई टाल्दै आएका थिए। तर पछिल्लो समय प्रधाामन्त्री ओली मन्त्रिपरिषद पुनर्गठन गर्न तयार भएका छन्।

बालुवाटार निकट स्रोतका अनुसार मंसिरको पहिलो हप्ताभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्ने ओली र प्रचण्डबीच सहमति भएको छ।
स्रोतका अनुसार पूर्व एमाले र पूर्व माओवादीबाट सरकारमा सहभागी भएका केही मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ र सक्षमलाई मौका दिने विषयमा दुई अध्यक्षबीच सहमति भइसकेको छ।

नयाँ मन्त्रीका लागि सबैभन्दा संभावना भएका पूर्व एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, शिवमाया तुम्वाहाम्फे र वसन्त नेम्वाङ हुन्। यसैगरी पूर्व माओवादीबाट देवेन्द्र पौडेल र जनार्दन शर्मा मन्त्री बन्दैछन्।

पछिल्लो समयमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले पनि सरकारबाट बाहिरिने मनशाय देखाएको छ। समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक यही कात्तिक अन्तिममा बस्दैछ। केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णग गरे समाजवादी पार्टीको भागमा परेका दुई मन्त्रालय नेकपाले नै पाउनेछ। प्रधानमन्त्रीले समाजवादी पार्टीको निर्णयपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका हुन्।

मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्व माओवादीबाट कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र वन मन्त्री शक्ति बस्नेतलाई विदा गरिने बताइएको छ। यसैगरी पूर्व एमालेबाट महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्म, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई विदा गर्ने तयारी भएको छ।

यी बाहेक श्रम मन्त्री गोकर्ण विष्ट र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको ठाउँमा नयाँलाई अवसर दिने विषयमा छलफल भइरहेको छ। ती बाहेक अन्य मन्त्रीको जिम्मेवारी पनि हेरफेर गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको छ।

मन्त्रिपरिषद पुनर्गठन हुँदा प्रधानमन्त्रीले योग्य र सक्षमलाई अवसर दिने तयारी गरेका छन्। स्रोतका अनुसार नयाँ मन्त्रीका लागि सबैभन्दा संभावना भएका पूर्व एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, शिवमाया तुम्वाहाम्फे र वसन्त नेम्वाङ हुन्। यसैगरी पूर्व माओवादीबाट देवेन्द्र पौडेल र जनार्दन शर्मा मन्त्री बन्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *