विपक्षी नेतृले आफूलाई बोलिभियाको अन्तरिम राष्ट्रपति घोषित गरिन्
सुक्री। बोलिभियाकी विपक्षी नेतृ जिनाइन आनेफले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेकी छन् । दक्षिण अमेरिकी देश बोलिभियाको राष्ट्रपतिबाट एभो मोरालेसले राजीनामा दिएपछि विपक्षी नेतृ जिनाइनले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी हुन् । मोरालेससँगै उपराष्ट्रपति अल्भारो गार्सिया लिनेरा र सिनेटका अध्यक्ष एड्रिएना साल्भाटिएराले समेत आइतबार राजीनामा दिएका थिए ।
जिनाइनले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेपछि त्यसलाई औपचारिकता दिन बोलाइएको सिनेटको बैठक मोरालेसका पार्टीका सिनेटरले बहिष्कार गरे । अर्थात जिनाइनलाई अन्तरिम राष्ट्रपति घोषित गर्न बोलाइएको सिनेट बैठकमा कोरम पुगेन । तर जिनाइनले संविधान अनुसार आफू नै देशको अन्तरिम राष्ट्रपति रहेको र चाँडै चुनाव गर्ने बताएकी छन् । राजीनामा दिएका मोरालेसले जिनाइनको घोषणको गम्भीर आलोचना गरेका छन् ।
पूर्व राष्ट्रपति मेक्सिको पुगेका छन् । राष्ट्रपतिबाट राजीनामा दिएको तेस्रो दिनमै एभो मोरालेस राजनीतिक शरण लिने मेक्सिको पुगेका हुन् । मेक्सिको सिटी पुगेका मोरालेसले आफ्नो ज्यानमाथि नै गम्भीर जोखिम देखिएकाले राजनीतिक शरण लिन बाध्य भएको बताए । गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै लगातार प्रदर्शन भएको तथा अन्तर्राष्ट्रिय परिवेक्षकले पनि चुनावमा धाँधलीको स्पष्ट प्रमाण भेटिएको भनेपछि मोरालेसले आइतबार राजीनामा दिएका थिए ।
Facebook Comment