आलोचकलाई विश्वासमा लिँदै प्रधानमन्त्री ओली

डिसी नेपाल
२८ कार्तिक २०७६ ८:०९

काठमाडौं। प्रधानमन्त्री केपी ओली आफ्नो आलोचकप्रति कठोर मानिन्छन्। उनी आफ्नो आलोचना गर्ने व्यक्तिलाई खासै रुचाउँदैनन् पनि। प्रधानमन्त्री ओलीको यही बानीका कारण बेला बेलामा विवादित पनि बन्छन्।

तर पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो अलोचना गर्नेसँग सम्बन्ध बढाउन खोजेका छन्। सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना बढिरहेका बेला प्रधानमन्त्री ओली आफ्नो आलोचकहरुसँगको सम्बन्धलाई सुमधुर बनाउन खोजेका छन्।

पार्टीभित्र खासै राम्रो सम्बन्ध नभएका भनिएका नेता घनश्याम भुसालसँग प्रधानमन्त्री ओलीले पछिल्लो समय छलफल र परामर्श गर्न थालेका छन्। मन्त्रिपरिषद पुनर्गठनमा भुसालले अवसर पाउने चर्चा चलेको छ।

पछिल्लो समय पार्टीका वरिष्ठ नेता माधव नेपालसँग ओलीको सम्बन्ध चिसिएको थियो। ओलीले एकलौटी सरकार र पार्टी संचालन गरेको आरोप लगाउँदै नेता नेपाल ओलीको कार्यशैलीप्रति रुष्ट बनेका बेला प्रधानमन्त्री ओलीले मंगलबार वरिष्ठ नेता नेतासँग झण्डै चार घण्टा लामो छलफल गरे।

प्रधानमन्त्री ओलीले बालुवाटारमै नेता नेपाललाई बोलाएर लामो समय कुराकानी गरी सम्बन्ध सुधारको प्रयास गरेका हुन्। भदौ ५ पछि दुवै नेताबीच एक्लाएक्लै भेटघाट भएको थिएन।

भेटघाटमा व्यक्ति सम्बन्ध पार्टीभित्रको उत्तारचढाव र दुई नेताहरूबीच पछिल्ला दिनमा भेटघाट नभएको विषयमा समेत कुराकानी भएको थियो। भदौ ५ मा सचिवालय बैठकमै दुई नेताहरूबीच विवाद भएपछि त्यसयता एक्लै भेटघाट वा फोनमा समेत कुराकानी भएको थिएन।

प्रधानमन्त्री स्वास्थ्य उपचारमा सिंगापुर जाने बेला नेता नेपालले स्वास्थ्य लाभको शुभकामना दिँदा सो शुभकामना आवश्यक नभएको भन्दै ओलीले स्वास्थ्यलाभको शुभकामना नै अस्वीकार गरेपछि दुई नेताहरूबीचको सम्बन्ध चिसिएको थियो।

दुई नेताहरूबीच सम्बन्ध चिसिएपछि औपचारिक बैठकमा बाहेक ओली–नेपाल भेटघाट बन्द भएको थियो। भेटमा पनि दुई नेताहरू खास खुलेर बोल्ने गरेका थिएनन्।

मंगलबारको भेटमा दुवै नेताले आ–आफ्ना कमीकमजोरीबारे कुराकानी गरेको हुन सक्ने बताइएको छ। मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेका बेला दुवै नेताहरूबीच भएको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

पार्टी अध्यक्ष ओलीसँग सम्बन्ध चिसिएपछि भदौ ३० गते नेपाललाई नबोलाई ओलीले सचिवालयको बैठक राख्न खोजेका थिए। त्यस दिन ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेलसँग मात्रै भेटघाट गरेका थिए। सो भेटघाटमा वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाइएको थिएन। भदौ ५ गतेभन्दा अघि बसेको सचिवालय बैठकले नेता नेपालको वरीयता खोसिएको थियो।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेपालले स्वास्थ्य लाभका लागि दिएको शुभकामनासमेत प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि बोलचाल नै बन्द भएको थियो। नेता नेपालले आफ्नो स्वास्थ्यबारे नकारात्मक टिप्पणी गर्दै हिँडेको भन्दै प्रधानमन्त्री ओलीले शुभकामना अस्वीकार गरेका थिए।

सरकारले अनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। यो विषयमा पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल भएको बताइएको छ। प्रधानमन्त्री ओलीले जनताले महशुस गर्ने गरी काम गर्ने नयाँ नेतालाई मन्त्रिपरिषदमा सहभागी गराउने तयारी गरिरहेका बेला नेता नेपालसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *