मलेशियासँग पराजित भयो नेपाल
काठमाडौं। चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोली पराजित भएको छ।
शांघाईमा शुक्रबार भएको खेलमा नेपाल मलेशियासँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय १५ रनको लक्ष्य मलेशियाले २० ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
मलेशियाकी मास एल्सा यास्मिनले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालकी लक्ष्मी साउद, कृतिका मरासिनी, कविता कुँवर र ईश्वरी बिष्टले १–१ विकेट लिइन्।
यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
नेपालकी राजमती ऐरीले ३७ रन जोड्दा कविता कुँवर र लक्ष्मी साउदले समान १९र१९ रन जोडिन्। डली भट्टले १६ रन बनाइन्। मलेशियाकी नुर अब्दुल समादले २ विकेट लिइन्।
यो सँगै प्रतियोगितामा नेपालले चार खेलमा दुई जित र दुई हारको आत्मसात गरेको छ।
यस अघि प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग २९ रनको हार व्यहोरेको थियो। दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले हराएको थियो। यस्तै बिहीबार नेपालले म्यानमारलाई ३५ रनले हराएको थियो।
Facebook Comment