हङकङमाथि नेपालको प्रभावशाली जीत
काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङमाथि प्रभावशाली जीत हात पारेको छ । नेपालले हङकङलाई ४० रनले पराजित गरेको हो । नेपालले हङकङलाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको थियो । लक्ष्य पच्छ्याउने क्रममा हङकङले १७७ रन मात्र बनाउँदै ४५.५ ओभरमा अलआउट भयो ।
ढाकामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो । हङकङविरुद्ध खराब सुरुवात गरेको नेपालले ३ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई शुन्य र कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो । तर, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेल्दै नेपालको इनिङ्स उकासेका थिए ।
शरदले ८९ रन बनाए । शरदले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरेका थिए । दिपेन्द्र ३७ रनमा आउट भए । यस्तै चौंथो विकेटका लागि शरदले आरिफ शेखसँग ७४ रनको साझेदारी गरे । आरिफले ४८ रन बनाए । नेपालका लागि करण केसी र अविनाश बोहोराले ३–३ विकेट लिए । सुसन भारीले २ विकेट लिए ।
Facebook Comment