रोल्पा थवाङ : स्वतन्त्र उम्मेदवार झाँक्रीको उम्मेदवारी फिर्ता

डिसी नेपाल
१ मंसिर २०७६ ७:३४

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–१ को रिक्त वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रकुमार झाँक्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।

झाँक्रीले शनिबार उक्त पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन् ।

झाँक्रीको उम्मेदवारी फिर्तासँगै अब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

उक्त पदमा नेकपाको तर्फबाट जनक बुढामगर र काङ्ग्रेसको तर्फबाट कलम रोकाले उम्मेदवारी दिएका छन् ।

गएको स्थानीय तह निर्वाचनमा झाँक्रीले सोही वडाबाट स्वतन्त्र उम्मेदवार बनी सदस्य पदमा निर्वाचित भएका थिए।

झाँक्रीले सोमबार सो पदबाट राजीनामा दिइ अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । गाउँपालिका अध्यक्षलाई दिएको राजीनामा स्वीकृत गराई अध्यक्ष पदमा उम्मेदवार बन्नुभएका झाँक्रीले शनिबार एकाएक उम्मेदवारी फिर्ता लिएपछि विभिन्न कोणबाट चर्चा–परिचर्चा सुनिन थालेको छ।

सहमतिको अन्तिम प्रयास असफल भएपछि उम्मेदवारी फिर्ता लिएको हुँ झाँक्रीले भने ।

एकता थवाङको पहिचान भएकाले सोही पहिचान कायम गर्न सहमतिको प्रयास गरियो तर सफल नभएपछि चुनाव नलड्ने निर्णयमा पुगेँ झाँक्रीले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *