बाबुरामलाई उपेन्द्रको काउन्टर–सीमा मिच्ने विदेशीसँग लड्न छाडेर आफ्नै सरकारसँग किन भिड्ने?

डिसी नेपाल
१ मंसिर २०७६ १०:१२

काठमाडौं। बिहीबार भएको समाजवादी पार्टीको संघीय परिषद बैठकमा सरकार छाड्ने विषयमा छलफल भए पनि तत्काल सरकार नछाड्ने निष्कर्ष निस्किएको छ । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सरकार छाड्नेपर्ने आशयको प्रतिवेदन पेश गेको भए पनि अध्यक्ष उपेन्द्र यादवले भट्टराईको तर्कलाई काट्दै तत्काल सरकार छाड्न नहुने कुरामा नेताहरुलाई सहमत गराएका थिए ।

बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य डा. शिवजी यादवका अनुसार संघीय परिषद अध्यक्ष डा. भट्टराईले आफूहरुको मुख्य एजेण्डा संविधान संशोधन भए पनि यो एजेण्डामा ठोस प्रगति हुन नसकेको भन्दै सरकारमा बस्नुको औचित्य नभएको बताएका थिए । भट्टराईको तर्कलाई काउन्टर दिँदै अध्यक्ष उपेन्द्र यादवले देशको सिमाना मिचिएको बेला सरकारलाई साथ दिएर बलियो बनाइ देश बचाउनुको सट्टा सरकारसँग नै निहुँ खोज्नु उचित नहुने बताएका थिए ।

‘देशको सीमा मिचिएको छ । यो बेला सबै एकजुट भइ सरकारलाई साथ दिने र भारतसँग कुटनीतिक पहल गरी आफ्नो जमिन फिर्ता ल्याउनु मुख्य प्राथमिकता हुनुपर्छ’ बैठकमा अध्यक्ष यादवले भनेका थिए ‘यस्तो बेला सरकार छाडेर सरकारलाई एक्ल्याउने र झन कमजोर बनाउने काम उचित होइन ।’ अध्यक्ष यादवले अहिले अन्य दलहरुले पनि सरकारलाई साथ दिने बेला भएको उल्लेख गरेका थिए ।

अध्यक्ष यादवले आफूहरुको मुख्य एजेण्डा संविधान संशोधन भए पनि त्यो संविधान लागू गर्नको लागि पहिले देश बच्नुपर्ने भएकोले पहिलो प्राथमिकता देश बचाउनु हुनुपर्ने बताएका थिए । ‘देश भयो भने हामीले राजनीति गर्ने हो देश नै नभए हाम्रो राजनीतिको केही औचित्य रहँदैन’ अध्यक्ष यादवले भनेका थिए ‘संविधान संशोधन भइहाले पनि त्यो संशोधित संविधान लागू गराउन देश चाहिन्छ । देश नै नभए केही पनि रहँदैन त्यसैले पहिले देश बचाउनतर्फ लागौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *