‘चुरीफुरी’मा अडिसनमार्फत कलाकार छान्दै ऋषिराज
काठमाडौं। ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘चुरीफुरी’को कलाकार छनोट कार्य शुरु भएको छ। निर्माण टिमले अडिसनमार्फत कलाकार छनोट गर्न लागेको हो।
पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय, चक्रपथमा सम्पन्न गरियो। स्क्रिप्टले नयाँ अनुहार माग गरेकाले अडिसन गरेर कलाकार छनोटको प्रक्रिया शुरु गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन्।
आचार्यकै लेखन रहने फिल्मका लागि गरिएको अडिसनमा झण्डै दुई सय नव–प्रतिभाले अडिसन दिएका थिए। पहिलो चरणको अडिसनमा केही प्रतिभाशाली प्रतिभा छनोट भएको आचार्यले जानकारी दिए। उनले ‘चुरीफुरी’ का लागि प्रमुख अभिनेता, अभिनेत्री तथा सह–कलाकार समेत आवश्यक रहेकाले दोश्रो चरणको अडिसन पनि गरिने बताए। अडिसनमा सहभागी युवायुवतीले आफूमा निहित विवध प्रकारका अभिनय क्षमता प्रस्तुत गरेका थिए।
केही दिनपछि हुने दोश्रो चरणको अडिसनपछि सम्पूर्ण कलाकार छनोट हुने बिश्वास आचार्यले लिएका छन्। विदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट अडिसन दिन सक्ने ब्यबस्था मिलाइएको छ। पहिलो चरणको अडिसनमा निर्देशक ऋषिराज स्वयम्का साथमा संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी अतिथि निर्णायकका रुपमा थिए।
‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ र ‘ड्रिम गर्ल’ लगायतका फिल्म निर्माण गरिसकेका आचार्यकोे ‘चुरीफुरी’ को छायांकन मंसिर तेश्रो साताबाट सुरु हुने बताइएको छ। कमेडी जनराको फिल्म आरबि मुभीजकै ब्यानरमा निर्माण हुँदैछ।
Facebook Comment