नक्सा सच्याउने भन्दा भूमि फिर्ता लिने विषय महत्वपूर्ण, आफ्नो भूमि फिर्ता गर्न सरकार सक्षम : प्रधानमन्त्री

डिसी नेपाल
१ मंसिर २०७६ १३:४०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिवद्धता जनाएका हुन्।

अघिल्लो सताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उनले सीमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले आफूलाई हिरो देखाउन उचाल्ने काम गरेको भएपनि वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको बताए। उनले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गरे।

‘नेपाली जनताको सरकार हो। नेपाल राष्ट्रको सरकार हो। देश भक्त सरकार हो। त्यसकारण यस सरकारले आफ्नो भूमि एक इन्ज पनि मिचिन दिँदैन,’ उनले भने, ‘हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नु छैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस्। हाम्रो जमिनमा सेना नराख्नुहोस् फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ।’

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसंग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले संवाद मार्फत सीमा सम्बन्धी समस्या समाधान गर्ने बताए। कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उनले नक्सा नभई भूमि फिर्ता लिने विषय महत्वपूर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको जनाए।

‘यो सरकार राष्ट्रिय हितको पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ,’ उनले भने।

नेपालको सीमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यवद्धता जनाएकोमा उनले खुसी व्यक्त गरे। पछिल्लो समय राजनीतिक पूर्वाग्रह र आत्मकेन्द्रीत भएर सरकारको विरोध हुने गरेको भन्दै उनले दुवै ढंगका विरोध उचित नरहेको बताए।

‘दुनियाँमा एउटा आईडोलोजिक क्लास छ। आईडोलोजिक पूर्वाग्रह छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा अहिलेको सरकारको विरोध दुई किसिमले हुने गरेको छ। एउटा विरोध आईडोलोजिक। कम्युनिष्ट सरकार छ । त्यसकारण विरोध गर्नुपर्छ । जे गरेपनि विरोध गर्नुपर्छ। जसो गरेपनि विरोध गर्नुपर्छ । गर्न त राम्रो गरेको छ तर पनि विरोध गर्नुपर्छ। बैचारिक पुर्वाग्रहबाट गरिने विरोध एउटा विरोध छ । अर्को मैले केही पाइन। मैले केही पाएको छैन। मैले भने जस्तो पाइन। मैले पाउनुपर्ने मैले नपाएको हुनाले किन समर्थन गर्ने भन्ने आत्मकेन्द्रीत स्वार्थी विरोध छ। यो दुईवटै विरोध उचित छैन।’

उनले नाफाको निर्मम निर्दयी पूँजीवादी प्रणाली र जनतालाई माया गर्ने समतामुलक, न्यायपूर्ण तथा मानवतावादी समाजवादी प्रणालीबीच अहिले पनि बैचारिक र व्यवहारिक संघर्ष कायम रहेको उल्लेख गरे। उनले सिद्धान्तको जग नै नाफा कमाईमा रहेको पूँजीवाद असक्त अवस्थामा रहेको र वास्तविक सिद्धान्तमा अडिन नसकेको टिप्पणी गरे।

‘पूँजीवाद अहिले लौरो टेकेर लडखडाएको स्थितिमा छ यद्यपि फाइफुईँ धेरै छ। हिजोको ओरिजनल पूँजीवादको अवस्थामा रहन सकेको छैन,’ उनले भने, ‘अस्तित्व रक्षाका लागि कतिपय समाजवादका विचारहरु, लक्ष्यहरु सापटी लिएर, त्यहाँबाट तानेर पूँजीवादले आफ्नौ मौलिक प्रवृत्तिलाई छोडेर समाजवादका कुराहरुलाई अंगालेको छ । फेरी पनि पूँजीवाद क्राईसिसमा छ।’

केही कमि कमजोरी भएपनि लोकतान्त्रिक प्रणाली भएकाले जस्तो भएपनि शासक स्वीकार्नुपर्ने विगतको जस्तो बाध्यता अहिले नभएको भन्दै उनले श्रृजनात्मक सोचका साथ काम गर्न निर्देशन दिए। काम नगरिकनै पैसा कमाउने संस्कारको विकास हुदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले त्यस किसिमको प्रवृत्तिबाट जोखिन पनि युवाहरुलाई सचेत गराए।

‘आजको श्रृजनात्मक सोच र सकारात्मक सोच र श्रृजनात्मक काम गर्नु पर्दछ । कामलाई माया र सम्मान गर्ने संस्कृति बढाउनुपरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रोमा के चलन चल्न खोजेको छ भने, चल्न खोजेको छ भने, कतिपयभित्र अलिकति घुसेको पनि छ । सहज आम्दानीको प्रवृति । मेहनतको आम्दानी होइन सहज आम्दानी । लगानी र प्रतिफल होइन । विना लगानीको विना प्रतिफलको आम्दानी । सहज आम्दानी । यस्ता कुराहरुबाट हामी जोगिनु पर्छ।’

केही बर्ष अघि सम्म पनि मुलुकमा अशान्ति, अराजकता, हत्या हिंसाको अवस्था रहेको स्मरण गर्दै उनले वर्तमान अवस्थमा भने मुलुकमा पूर्णरुपमा शान्ति कायम भएको र राष्ट्रिय हितको पक्षमा दृढ उभिन सक्ने सरकार बनेको बताए।

‘राष्ट्रियताको पक्षमा उभिदिने सरकार भइदिए कस्तो हुन्थ्यो भन्ने एउटा सपना थियो। राष्ट्रिय हितको पक्षमा बोलिदिने, राष्ट्रिय अडान लिने, सार्वभौमसत्ताको अडान लिने, स्वाधिनताको अडान लिने यस्तो सरकार भईदिए हुन्थ्यो भन्ने मृगतृष्णा थियो,’ उनले भने, ‘आज देशको अग्रभागमा भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा, राष्ट्रिय हितको पक्षमा दृढ उभिने सरकार छ । दलहरुले, पार्टीहरुले, व्यक्तिहरुले ,संस्थाहरुले, संगठित हुन पाए विचार अभिव्यक्त गर्न पाए कस्तो हुन्थ्यो भन्ने समय थियो।’

उनले अझै पनि बोक्सीको नाममा महिलाहरुले कुटाईखाने, विवाहको नाममा बेचिने क्रम चलेको भन्दै जोर जुलुम भन्दा जागरण अभियान चलाउने काममा लाग्न युवाहरुलाई निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *