उपनिर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अध्यक्ष दाहालले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्ने गरी सो उपनिर्वाचनमा पार्टीलाई विजयी गराउने गरी प्रचार अभियानमा खटिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारको लोकप्रियता घट्यो भन्नेहरुलाई गलत सावित गराउन तथा पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि सो उपनिर्वाचनमा पार्टीको पक्षमा परिमाण आउने गरी निर्वाचन अभियानमा होमिनुपर्ने बेला आएको पनि बताए ।
‘यो उपनिर्वाचन सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि हाम्रो पार्टीका लागि अग्नी परीक्षा भएको छ,’ अध्यक्ष दाहालले भने, ‘त्यसका लागि फिल्डमै गएर प्रचार अभियानमा तीव्रता दिई पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पार्टीका नेता, कार्यकर्ता डटेर अघि बढनु पर्दछ ।’
अध्यक्ष दाहालले उपनिर्वाचनमा पार्टीले अन्य पार्टीले जितेको ८० प्रतिशत क्षेत्रमा पनि विजयी हासिल गर्ने रिर्पोटहरु आईरहेको पनि बताए । उनले यो उपनिर्वाचनमा सबै क्षेत्रमा विजयी भएर पार्टीले आगामी ३ वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई झनै शक्तिशाली बनाउने आधार तयार पार्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
अध्यक्ष दाहालले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाललाई विकास, निर्माण र समृद्धिको विशाल फौजको रुपमा रुपान्तरण गर्न आफूले चाहेको पनि बताए । उनले युवा रोजगारीका विभिन्न कार्यक्रम सञ्चालन गर्न पनि राष्ट्रिय युवा संघ, नेपाललाई निर्देशन दिए ।
पार्टीकै नेतृत्वको सरकार रहेका बेला युवा रोजगारीको अवसर सञ्चालन हुने गरी विभिन्न कार्यक्रम सञ्चालन गरे त्यसमा सरकारले पनि साथ दिने अध्यक्ष दाहालले राष्ट्रिय युवा संघ, नेपाललाई आश्वासन दिए ।
अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता प्रधानमन्त्री, राष्ट्रपति नभई सिंगो देश र जनताको हितको लागि भएको पनि दोहोर्याए ।
Facebook Comment