भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत छ : नेता पाण्डे

डिसी नेपाल
१ मंसिर २०७६ १९:००

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत रहेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका पाण्डेले भारत सरकारले सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरिरहेको पनि स्पष्ट पारे ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले नेपालको एक इन्च भूमि पनि गुम्न नदिने दावी गरे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले भारत र चीन दुवै मुलुकसँग सीमा विवाद रहेको उल्लेख गर्दै समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिए । उनले सरकार र मुलुकको सुरक्षा निकाय देशको भूगोलको रक्षा गर्न गम्भिर नभएको आरोप पनि लगाए ।

समाजवादी पार्टी, नेपालका नेता डा. शिवजी यादव र राष्ट्रिय जनता पार्टी, नेपालका महामन्त्री केशव झाले नेपाली भूमि भारत र चीन दुवै मुलुकले अतिक्रमण गरेको दावी गर्दै ती समस्या समाधानका लागि सरकारले उचित पहलकदमी लिन नसकेको आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *