सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु
बेरुत (रासस/एएफपी) । सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।
सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई लक्षित गरी हवाई हमला गरेको जनाएको छ ।
अब्टरभेटरीले इडलिबको दक्षिणी अल–मालाजा गाउँमा पाँच जनाको मृत्यु भएको तथा पूर्वी साराकेब नगरमा चार जना मारिएको उल्लेख गरेको छ । यी दुबै आक्रमणमा थुप्रै सर्वसाधारण घाइते भएका छन् भने केहीको अवस्था निकै गम्भीर रहेको छ ।
अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले इडलिब क्षेत्र पूर्व अल–कायदा लडाकू आबद्ध विभिन्न समूहले नियन्त्रणमा लिइरहेको बताए ।
सिरियाको आठ वर्षे गृहयुद्धका क्रममा ठूलो संख्यामा यहाँ आन्तरिक रुपमा विस्थापित मानिसहरु पनि बसोबास गरिरहेका छन् ।
इडलिब क्षेत्र सिरियाली राष्ट्रपति बसार अल–अस्सादप्रति बफादार सिरियाली सेनाका लागि अझै पनि टाउको दुखाईको विषय बनेको छ । इडलिबमा शान्तिपूर्ण तबरबाट समाधान निकाल्न रुसले गत अगस्टदेखि युद्धविराम पनि गरेको छ ।
तर अब्जरभेटरीको भनाईमा यही नोभेम्बर महिनाको शुरुदेखि हालसम्म रुसी हवाई कारबाहीमा ४८ जना सर्वसाधारणको ज्यान गइसकेको छ ।
सन् २०११ देखि शुरु भएको सिरियाली गृहयुद्धमा हालसम्म कम्तीमा तीन लाख ७० हजारको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् ।
Facebook Comment