सीमा विवादः भारतविरोधी आन्दोलन चर्किरहेका बेला श्याम शरण काठमाडौंमा !
काठमाडौं । भारतीय पूर्व विदेश सचिव श्याम शरण काठमाडौं आएका छन् । भारतले सीमा मिचेको विरोधमा नेपाल भर विरोध प्रदर्शन भइरहेका बेला हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै भारतलाई कालापानी नेपालको भएकोले त्यहाँबाट आफ्ना सेना फिर्ता लैजान भनेका थिए । त्यसको केही घण्टापछि नै श्याम शरण काठमाडौं आइपुगेका हुन् ।
श्याम शरण भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको बताइएको छ । नेपालको सत्ता र प्रतिपक्ष दलले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गरिरहेका बेला मोदीले पूर्व विदेश सचिव श्याम शरणलाई नेपाल पठाएका हुन् । श्यामशरण नेपाली राजनीतिमा विशेष दखल राख्ने भारतीय कुटनीतिज्ञ हुन् । तत्कालिन माओवादी र सात दललाई एक ठाउँमा ल्याएर दिल्ली सम्झौता गराउन भूमिका खेलेका थिए । नेपालका दलहरुसँग विशेष सम्बन्ध राख्ने श्याम शरण मोदीको सन्देश बोकेर काठमाडौ आइपुगेका छन् ।
सन् २००४ देखि २००६ सम्म विदेश सचिव भएका श्याम शरण नेपालका लागि पूर्व भारतीय राजदूत पनि हुन् । भारतीय अतिक्रमणविरुद्ध नेपाल एकजुट भएको छ । सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुनै अतिक्रमणबिरुद्ध उभिएका छन् । आइतबार साँझ काठमाडौ आइपुगेका श्यामशरणले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल बसाईमा उनले मधेसबादी दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।
Facebook Comment