उपनिर्वाचन २०७६ : कोहलपुरमा राजनीतिक प्रतिष्ठाको सवाल

डिसी नेपाल
२ मंसिर २०७६ १५:१३

काठमाडाैं। बाँकेको कोहलपुर नगरपालिका¬–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई ठूला दलहरुले राजनीतिक प्रतिष्ठाको सवाल बनाएका छन्। दुई प्रमुख पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस वडाध्यक्षको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएर निर्वाचन प्रचारप्रसारमा खटिएका छन्।

नेपाली काँग्रेसलाई पुरानो बर्चस्व जोगाउन र नेकपालाई पार्टी एकीकरणपछिको प्रभाव देखाउन दुबै पार्टी योजनाबद्ध तरिकाले लागेका छन्। वडाध्यक्षका उम्मेदवारको निर्वाचन प्रचारका लागि नेकपाले पार्टी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चुनावीसभा आयोजना गरेको छ।

चुनावी गतिविधिलाई प्रभावकारी बनाउन पार्टी अध्यक्ष दाहालको उपस्थितिमा चुनावीसभा गरिएको नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिए। उनी नगर प्रमुखसहित बहुमत वडामा नेकपाको जित भएको र अहिले पार्टी एकीकरणले उपनिर्वाचनमा नेकपाको जित हुने दाबी गर्छन्।

नेपाली काङ्ग्रेसले निर्वाचन कार्यालय स्थापना गरी चुनाव प्रचारप्रसारमा लागेको उक्त पार्टीका कोहलपुर नगरपालिका सचिव भूम भण्डारीले बताए। उनले वडा नं. ६ नेपाली काँग्रेसको इलाका भएकाले यो उपनिर्वाचनमा पनि जित सुनिश्चित भएको उल्लेख गरे।

वडाध्यक्षको निर्वाचनका लागि नेकपाले रामशरण थारुलाई उम्मेदवार चयन गरेको छ भने नेपाली काँग्रेसले कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार बनाएको छ।

नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि मङ्सिर १४ मा हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले विगतको विरासत जोगाउन लागिरहेको छ भने नेकपाले जित आफ्नो पक्षमा पार्ने दाउमा छ। वडामा राजनीतिक प्रभाव राख्ने कार्यकर्तालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु लागिपरेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातामा पनि कसलाई मत दिने भन्ने कौतुहलता बढ्न थालेको छ।

अघिल्लो निर्वाचनमा एक हजार ९६४ जना मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामसोहनले ४२४ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा (एमाले)का श्रीराम थारुले ३५२ मत प्राप्त गरेका थिए।

यसैगरी तत्कालीन नेकपा (माओवादी) केन्द्रका रामशरण थारुले २७३, राप्रपाका नेबबहादुर वलीले ८७ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोख्रेलले ५६ मत प्राप्त गरेका थिए।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका रामसोहन थारुको २०७५ मङ्सिर ९ गते निधन भएको थियो। कोहलपुर नगरपालिकाको वडा नम्बर ६ अहिले कार्यवाहक अध्यक्षको भरमा चल्दै आएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *