शरद अरबिन्द बोब्डे भारतको प्रधान न्यायाधीशमा नियुक्त

डिसी नेपाल
२ मंसिर २०७६ १७:३७

नयाँदिल्ली (रासस/एएनआई) । भारतको ४७औँ प्रधान न्यायाधीश पदमा शरद अरबिन्द बोब्डे नियुक्त भएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ गराए ।

प्रधान न्यायाधीश रञ्जन गोगोईको कार्यकाल समाप्त भएपछि न्यायाधीश बोब्डे प्रधान न्यायाधीश भएका हुन् । गोगोई करिब १३ महिना भारतको प्रधान न्यायाधीश भए । उनले यही नोभेम्बर १७ मा अवकाश प्राप्त गरेका हुन् । शपथग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसमेतका उच्च पदस्थ व्यक्ति उपस्थित थिए ।

न्यायाधीश बोब्डे सन् १९५६ मा भारतको महाराष्ट्रस्थित नागपुरमा जन्मिएका हुन् । उनले नागपुर विश्वविद्यालयबाट कानूनमा एलएलबी र बीएसम्मको अध्ययन गरेका थिए । भारतीय उच्च अदालतमा न्यायाधीश रहेर सेवा गरेका उनी सन् २०१३ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीशमा पदोन्नति भएका थिए । न्यायाधीश बोब्डेले आगामी सन् २०२१ को अप्रिल १३ मा अवकाश प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *