कम्बोडियामा रोजगारी भन्दै करोडौं ठगी (भिडियाे)

डिसी नेपाल
३ मंसिर २०७६ १७:४१

काठमाडौं। दक्षिण पूर्वी एशियाली मुलुक कम्बोडियामा रोजगारी लगाउने भन्दै एक मानव तस्करको समूहले नेपाली युवाहरुबाट करोडौं रकम ठगी गरेको खुलासा भएको छ।

धादिङ धार्के ठेगना बताउने कमल गुरुङको समूहले कार्भे, सिन्धुपाल्चोक, मकवानपुर र बाराका करिब ६२ जना युवाहरुबाट करिब साढे पाँच करोड रुपैयाँ ठगेको खुलासा भएको हो। कमल गुरुङलाई भाई टिका लगाइदिने कार्भेका चक्र तामाङकी श्रीमतीले आफन्तहरुलाई कम्बोडियामा राम्रो रोजगारीको अवसर रहेको बताएपछि कार्भेका विशाल तामाङ लगायतको समूह कम्बोडिया जान तयार भयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड हुँदै गत वर्ष माघमा ३ जना कम्बोडिया पुगे। ति तीनजना मध्ये कमल गुरुङ, विशाल तामाङ र एक जना अर्का थिए। गुरुङले आफु पनि रोजगारीका लागि कम्बोडिया आएको बताएका थिए। तर, कुरा खुल्दै जाँदा उनी नै मुख्य मानव तस्कर रहेको खुल्यो।

कम्बोडिया पुग्ने पहिलो समूहका विशालले आफुसँगै गएको कमल गुरुङ तस्कर रहेको खुलेको बताए। विशाल तामाङलाई कमल गुरुङले विभिन्न बाहाना बनाएर २ महिनासम्म काममा नलागाई कम्बोडियाका विभिन्न होटलहरुमा राखिरहे। र दुई महिनाको तलब २१ सय अमेरिकी डलरका दरले दिए पनि।


यसरी कामै नगारई तलब दिनुका पछाडि कमल गुरुङको ठग्ने ठूलै षडयन्त्र थियो। कम्बोडिया पुगेका साथीले तलब पाएको थाहा पाएपछि नेपालबाट थप अरुजना पनि कम्बोडिया पुगे। २७ जना युवाहरु कम्बोडिया पुगे। तर, कसैले पनि काम पाएनन्। अनि खुल्यो ठगिएको ।

आफुहरु ठगिएको थाहा पाएपछि अलपत्र परेका युवाहरु घरबाट पैसा मगाएर गएको वैशाखमा थाइल्याण्ड र चीन हुँदै नेपाल फर्किए। २७ जना कम्बोडिया पुगेर ठगिए भने अन्य ३५ जना कम्बोडिया नपुगेरै ठगिए। राम्रो तलब पाउने आशामा एकजनाले थोरैमा साढे ८ लाख र धेरैमा १५ लाख रुपैयाँसम्म दलाललाई विना कागज बुझाए।

अहिले दलाल फरार छन्। प्रहरी मुद्दा लिन मान्दैन। ठगिएका युवाहरु ऋणमा चुर्लुम्म डूबेका छन्। कम्बोडिया जाँदा उनीहरुले गरेको सबैभन्दा ठूलो गल्ती श्रम स्वीकृति नलिएरै जानु हो। उनीहरुले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएको भए ठगिने सम्भावना कम हुन्थ्यो।

अर्को गल्ति उनीहरु पर्यटक भिसामा गएर काम गर्ने सोँच हो। सबै प्रक्रिया पूरा गरि वैधानिक रुपमा वैदेशिक रोजगारीमा नजाँदा ६२ जना युवाहरु ऋणमा डुबेका छन् भने ठगिएको पैसा उठाउने प्रयास गर्दा थप पीडित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *