नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै छ : प्रदेश प्रमुख शेरचन

डिसी नेपाल
४ मंसिर २०७६ ६:५१

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताएका छन् ।

पोखरा भ्रमणमा रहेको चिनियाँ राजदूत नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मंगलबार उनले नेपाल–चीनको ऐतिहासिक सम्बन्धलाई हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको भ्रमणसँगै अझै उचाइमा पुर्याएको बताए ।

चीनसँगको सम्बन्ध आगामी दिनमा अझै मजबुत बन्दै जाने विश्वास व्यक्त गर्दै उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध भएको र गण्डकी प्रदेश चीनको सिमानासँग जोडिएका कारण सिमानाबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने विश्वास व्यक्त गरे ।

नेपालका लागि चिनियाँ राजदूत हौ याङछीले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेकोमा प्रदेश प्रमुख शेरचनलाई बधाई तथा शुभकामना दिए ।

नेपालको समग्र विकासका लागि चीनले निरन्तर सहयोग गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

चीनले नेपाललाई गर्ने सहयोग नेपाल र नेपाली जनताका लागि हुने बताउँदै उनले आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै सुमधुर बन्दै जाने धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *