उपसभामुख मन्त्री बन्न तयार, राजीनामा भने उपनिर्वाचनपछि मात्र दिने

डिसी नेपाल
४ मंसिर २०७६ १४:५४

काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाम्फे अन्ततः मन्त्री बन्न तयार भएकी छिन् । यसअघि आफू सभामुख हुने निश्चित भएपछि मात्र उपसभामुख पदबाट राजीनामा पदने अडान लिएकी उपसभामुख अन्ततः मन्त्री बन्न राजी भएकी हुन् । आज प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेपछि उनी राजीनामा दिन तयार भएको उनीनिकट स्रोतले डिसीनेपाललाई जानकारी दियो ।

यद्यपि उपसभामुखले अहिल्यै राजीनामा भने दिने छैनन् । आज प्रधानमन्त्रीले केही मन्त्री हेरफेरको तयारी गरेको भए पनि आज बन्ने नयाँ मन्त्रीको सूचीमा उपभामुख तुम्बाहाम्फे हुने छैनन् । उनले आगामी १४ गते हुने उपनिर्वाचनपछि संसदको हिउँदे अघिवेशन बोलाइएपछि मात्र राजीनामा दिनेछिन् ।

स्रोतका अनुसार उनले अहिल्यै राजीनामा दिएमा नेकपालाई केही प्राविधिक समस्या हुने भएकोले उनले अहिल्यै राजीनामा नदिने भएकी हुन् । उपसभामुख संवैधानिक परिषदको समेत सदस्य हुने भएकोले उनले अहिले राजीनामा दिँदा परिषदमा सभामुख र उपसभामुखदुवै हुने छैनन् । अर्कोतर्फ अहिले कसैलाई नियुक्त गर्नुपरेमा, सांदको भ्रमण स्वीकृत गर्नुपरेमा समेत कार्यवाहक सभामुखको हैसियतले उनैले गर्नुपर्ने अवस्था छ ।

सभामुख र उपसभामुख दुवै पद रिक्त भएको अवस्थामा संसदको ज्येष्ठ सदस्यले संसद बैठकको अध्यक्षता गर्ने व्यवस्था छ । तर, ज्येष्ठ सदस्य नेकपाका छैनन् । अहिले संसदका सबैभन्दा जेठा सदस्य राजपाका महन्थ ठाकुर हुन् । उपसभामुखले राजीनामा दिएपछि सभामुखको जिम्मेवारी स्वतः ज्येष्ठ सदस्यमा जाने र ज्येष्ठ सदस्य आफ्नो दलको नभएकोले उनले अप्ठ्यारो पार्न सक्ने आशंकाले नेकपाले उपसभामुखलाई अहिल्यै राजीनामा नगराउने निर्णय गरेको हो ।

आज प्रधानमन्त्रीले मन्त्रीमण्डल हेरफेर गर्दा हटाउने भनिएका कुनै मन्त्रीलाई तत्काल नहटाउने सम्भावना छ । यी मन्त्रीले संसदको अघिवेशन सुरु भएपछि राजीनामा दिने यता उपसभामुखले पनि राजीनामा दिने र त्यो मन्त्रालयमा तुम्बाहाम्फेलाई ल्याइने सम्भावना छ । अर्कोतर्फ पछि तुम्बाहाम्फेलाई दिइने मन्त्रालय अहिले प्रधानमन्त्रीले आफैंसँग राख्ने र पछि उपसभामुखले राजीनामा दिएपछि उनलाई दिइने सम्भावना पनि रहेको स्रोतले जानकारी दियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *