समाजवादीका नेता भन्छन्–मन्त्रालय जुन भएपनि सरकारमा उपस्थिति महत्वपूर्ण

डिसी नेपाल
५ मंसिर २०७६ १०:२८

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरे। दुई राज्यमन्त्रीसहित आठ मन्त्रीलाई पदमुक्त गरेका प्रधानमन्त्री ओलीले तीन राज्यमन्त्रीसहित नौ मन्त्रीलाई नियुक्त गरे।

त्यो बाहेक दुई मन्त्रीको जिम्मेवारी हेरफेर पनि गरे। प्रधानमन्त्री ओलीले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।

आफ्नो जिम्मेवारी हेरफेर हुँदा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव भने मुलुकभित्र थिएनन्। उनी स्वास्थ्य सम्बन्धि कार्यक्रममा भाग लिन भारतको राजधानी नयाँ दिल्लीमा छन्। यादव शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ।

उपप्रधानमन्त्रीसमेत रहेका यादवको जिम्मेवारी हेरफेरलाई समाजवादी पार्टीका नेताले भने सामान्य रुपमा लिएका छन्। उनीहरुले मन्त्रालय हेरफेर गर्ने विषय प्रधानमन्त्रीको अधिकार भित्र पर्ने भन्दै त्यसलाई ठूलो मुद्दाको रुपमा बुझ्न हुने बताए।

समाजवादी पार्टीका नेता डा. शिवजी यादवले पार्टी सरकारमा सहभागी हुँदा कुनै मन्त्रालयमा अडान नलिएको उल्लेख गर्दै प्रधानमन्त्रीले गर्ने जिम्मेवारी हेरफेरलाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘हाम्रो पार्टी सरकारमा सहभागी हुँदा पनि कुनै मन्त्रालयमा अडान लिएर सहभागी भएको होइन,’ डा. यादवले डिसी नेपालसँग भने, ‘कुनै मन्त्रालय भन्दा पनि सरकारमा उपस्थिति हुनु नै महत्वपूर्ण विषय हो।’

यादवले आफूहरु सरकारमा सहभागी हुनुको निश्चित उद्देश्य रहेको भन्दै उक्त उद्देश्य पूरा गर्न अहिलेका प्राप्त भएको मन्त्रालयमा बसेर झनै प्रभावकारी काम गर्न सकिने बताए।

‘हाम्रो मुख्य उद्देश्य भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संविधान संशोधन गराउन भूमिका निर्वाह गर्ने हो,’ उनले भने, ‘विधेयकको उत्पत्ति सरकारले गर्ने हो। अहिले हाम्रो भागमा कानुन मन्त्रालय परेको छ। कानुन मन्त्रालयले कानुन बनाउने हो। अब हामी संविधान संशोधन गर्न आफ्नो ध्यान केन्द्रित गर्छौं।’

उनले आफ्नो भागमा परेका मन्त्रालयमा समान्य फेरबदल हुँदा तरंगित हुनुपर्ने कुनै कारण नभएको बताए। यद्यपी यो विषयमा औपचारिक धारणा पार्टीको बैठकले मात्र सार्वजनिक गर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *