सोलुखुम्बुका हरेक घरमा तीन वर्षभित्र बिजुली बल्छः सांसद राई

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य हेमकुमार राईले तीन वर्षभित्र सोलुखुम्बुको हरेक घरमा बिजुलीबत्ती पुग्ने बताएका छन् ।
सोलुखुम्बुमा स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै सांसद राईले निर्वाचित भएदेखिनै निरन्तर रुपमा खटेर वितरण केन्द्र ल्याउन सफल भएको भन्दै अव “उज्यालो सोलुखुम्बु”को अभियान शुरु भएको बताए ।
साथै उनले विगतको दिनमा सडक निर्माणको विवाद आउने गरेको जिल्लामा विद्युत्लाईन विस्तारको क्रममासमेत विवाद आउनसक्ने भन्दै सहयोगका लागि सबैलाई अनुरोध गरे ।
जिल्लामा ग्रामीण विद्युतीकरणको लागि चालु आर्थिक वर्षमा खर्च हुनेगरी करीब रु ४७ करोड बजेट प्राप्त भएको छ।
उक्त बजेटबाट पहिलोचरणमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, नेचा सल्लयान र थुलुङदूधकोशीमा ग्रामीण विद्युतीकरणको लागि काम हुने सांसद राईले जानकारी दिए ।
यस्तै प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् सोलुखुम्बुलाई उज्यालो नबनाइ बाहिर नलानसमेत आग्रह गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभासदस्य उत्तमकुमार बस्नेतले विद्युत्बाट सञ्चालन हुने उद्योग तथा कलकारखाना तर्फ ध्यान दिने बेला भएको बताए ।
विद्युत् नहुदा उद्योगसमेत स्थापना हुन नसकेको भन्दै सांसद बस्नेतले आगामी दिनमा यस तर्फ सबैले ध्यान दिँदै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए । रासस
Facebook Comment