उपनिर्वाचन २०७६ : साँझ ६ बजेपछि चुनाव प्रचार गर्न नपाइने

डिसी नेपाल
५ मंसिर २०७६ १८:३६

चितवन । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनको अह्वानमा बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न दिने निर्णय गरेको हो ।

सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचनलाई सुरक्षित र भयरहित बनाउनका लागि प्रचारप्रसारको समयावधि निर्धाण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले उपनिर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहितालाई सबै पक्षले पूर्णरूपमा परिपालना गर्ने र गराउने निर्णय भएको बताए ।

यस्तै बैठकले उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यमलगायत सबै पक्षबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको प्रजिअ अधिकारी बस्नेतले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिले निर्वाचन सम्पन्न हुने वडाहरुको उम्मेदवार, मतदानस्थल, मतदान सामग्रीको सुरक्षा एवं मतदाताको मताधिकार सुरक्षणका लागि आवश्यक पर्ने सबै किसिमका सुरक्षा व्यवस्था मिलाई भयरहित वातावरण निर्माण गर्ने जनाएको छ ।

चितवनमा भरतपुर महानगरपालिका वडा नं १६, खैरहनी नगरपालिका वडा नंं ४ र ५ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा पाँच राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा रहेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *