जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउँछु : खेमराज पौडेल
पोखरा । कास्की क्षेत्र नं २ का नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी उचित ठाउँमा पुर्याएर बिसाउने बताएका हुन् ।
पोखरा–१६ मा आज आयोजित सभामा जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै उनले अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने दाबी गरे । आफूलाई लोभ, लालसा र मोह केही नभएको भन्दै उम्मेदवार पौडेलले देश र जनता सबैभन्दा माथि हुने बताए ।
उक्त अवसरमा नेता धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज पौडेललाई जिताउँदा पोखरेलीको इज्जतमा बढोत्तरी हुने धारणा प्रकट गरे ।
यसैबीच, उम्मेदवार पौडेल, नेता गुरुङलगायतले पोखरा–१६, जोगिमणीस्थित रनबहादुर गुरूङको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । रणबहादुर गुरुङको ९७ वर्षको उमेरमा केही दिन अघि निधन भएको थियो ।
स्व. रणबहादुरका छोराहरू योगबहादुर र रुनबहादुर गुरुङका साथै परिवारजनलाई भेटेर पौडेलले समवेदना प्रकट गरेका हुन् । रासस
Facebook Comment