हाइटीमा खाद्य असुरक्षा बढेको प्रति संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

डिसी नेपाल
७ मंसिर २०७६ १२:२२

संयुक्त राष्ट्रसंघ । लामो समयदेखिको राजनीतिक अस्थिरताका साथै खडेरी र मौसमको प्रतिकुलताका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ।

हालैका महिनाहरुमा यहाँको ठूलो जनसंख्याले खाद्यान्न अभाव झेलिरहेकोमा अब थप नागरिक यसको समस्यामा पर्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो।

संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले केही दिनअघि प्रकाशन गरेको इन्टिग्रेटेड फेज क्लासिफिकेसन (आइपिसी) प्रतिवेदनमा अहिले पनि यहाँका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन्।

यो संख्या अरु बढ्न सक्ने र यसबाट आगामी केही दिनमै यहाँ संकटपूर्ण अवस्था आउन सक्ने पनि सो समाचारमा जनाइएको छ।

सो प्रतिवेदनले हाइटीमा खाद्यान्न अभावको समस्या एकपछि अर्को गरी बढ्दै गएकोले यसको समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव दिएको छ।

हाइटीमा केही महिनादेखि आन्दोलन भइरहेको छ। राजनीतिक अस्थिरताका कारण यहाँको अवस्था अस्तव्यस्त भएको, दिनहूँजसो विरोध प्रदर्शन हुने गरेकोले दैनिक प्रशासन सञ्चालन र बन्द व्यापारमा पनि असर परेको बताइएको छ।

आगामी मार्च महिनासम्ममा यहाँ कम्तीमा पनि ४० लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नसक्ने उक्त प्रतिवेदनले औँल्याएको छ।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण भएकोले यसप्रति सबै गम्भीर हुनुपर्ने बताएको छ।

राजनीतिक अस्थिरताका कारण यहाँका विपक्षी दलहरुले महिना दिन भन्दा लामो समयदेखि सरकारका विरुद्धमा प्रदर्शनहरु जारी रहेका छन्।

यसका कारण हाइटीमा आर्थिक उत्पादनमा असर परेको र खाद्यान्नको कमी हुने खतरा अहिलेको भन्दा झन् बढेको संयुक्त राष्ट्रसंघको उक्त प्रतिवेदनमा जनाइएको हो।

यही विरोध प्रदर्शनका कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि यहाँको व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालयहरु पनि बन्द रहेका तथा अन्य प्रशासनिक लगायतका दैनिक कार्यहरु सञ्चालन गर्न पनि अप्ठेरो परेको अधिकारीहरुको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *