महाराष्ट्रमा भाजपाले सरकार बनाएसँगै शुरु भयो राजनीतिक ड्रामा, विधायकलाई होटल राखियो
नयाँ दिल्ली (एजेन्सी) । नाटकीय रुपमा भारतको महाराष्ट्रमा भारतीय जनता पार्टी (भाजपा)ले शनिबार बिहान सरकार बनाएसँगै शनिबार त्यहाँको राजनीतिमा ड्रामा देखिएको छ।
राष्ट्रवादी काँग्रेस (एनसीपी)का नेता अजित पवारलाई उपमुख्यमन्त्री बनाउँदै देवेन्द्र फणवीसले शनिबार बिहानै मुख्यमन्त्री शपथ लिएपछि मुख्यमन्त्री बन्ने पक्का भएको भनिएका शिवसेना नेता उद्धव ठाकरे चकित परे।
शुक्रबार राती र शनिबार बिहानै महाराष्ट्रको राजनीतिमा नाटकीय परिवर्तन देखियो। शुक्रबार बेलुकासम्म काँग्रेस आई, एनसीपी र शिवसेना मिलेर उद्धव ठाकरेको नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारीमा थिए।
तर, एनसीपी नेता अजित पवारले विद्रोह गरेर एनसीपी विधायकको समर्थन भाजपालाई रहेको पत्र राज्यपाल भगत सिंह कोश्यारीलाई पठाएपछि भाजपा नेता निवर्तमान मुख्यमन्त्री देवेन्द्र फणडवीसले अर्को कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिए।
भाजपाले आगामी नोभेम्बर ३० तारिखमा सदनमा बहुमत प्राप्त गर्न नसके सो सरकार ढल्ने छ। त्यसैले काँग्रेस, एनसीपी र शिवसेना भाजपा सरकारलाई बुहमत नपुगोस भनेर आफ्ना विधायकको रक्षामा लागेका छन।
५४ सिट रहेको एनसीपीमा विद्रोह देखिएपछि शनिबार दिउँसो एनसीपी संसदीय दलको बैठक बसेको छ। र सबै विधायकलाई होटलमा राखिएको छ। उता शिशसेनाले भने राज्यका भाजपा समर्थित राज्यपाल कोश्यारीले देवेन्द्र फणडवीसलाई मुख्यमन्त्रीको शपथ गराउनु नै असंवैधानिक भन्दै सर्वोच्च अदालत पुगेको छ।
तीन दलीय गठबन्धनले ठाकरेकै नेतृत्वमा सरकार बनाउने कसरत छोडेका छैनन्। यस्तोमा एक हप्तामै देवेन्द्र फणडवीस सरकार ढल्ने सम्भावना छ।
Facebook Comment