सिरियामा विस्फाेटमा परी १० को मृत्यु, कैयौँ घाइते
दमास्कस, सिरिया (रासस/सिन्ह्वा) : सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विस्फाेटमा परी कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् । विस्फाेटमा परी २५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।
राकाको ग्रामीण इलाका ताल अब्याद टर्कीको सिमानामा रहेको टर्कीको सहयोग प्राप्त विद्रोहीको प्रभाव क्षेत्र हो ।
सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार घटनामा कम्तीमा पाँच जना सर्वसाधारण परेका र पाँच विद्रोही रहेको बताइएको छ । उक्त घटनामा २२ जना सख्त घाइते भएका छन् । केहीलाई सामान्य चोट लागेको बताइएको छ ।
घाइतेमध्ये केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतकको संख्या थप वृद्धि हुनसक्ने बेलायतस्थित उक्त संस्थाले जनाएको छ ।
गत महिना टर्कीले आफ्नो सीमा क्षेत्रमा रहेका कुर्दिस नियन्त्रित क्षेत्रमा आक्रमण गरेपछि उनीहरू (विद्रोही लडाकू) तेल अब्यादमा प्रवेश गरेका थिए ।
Facebook Comment