बंगलादेशमा ‘सामुद्रिक डाँकू’द्वारा आत्मसमर्पण
बंगलादेश (रासस/एएफपी) । बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा भएको एक औपचारिक कार्यक्रममा झण्डै १०० ‘सामुद्रिक डाँकू’ले शान्त जीवन जीउने प्रतिवद्धतासहित शनिबार आत्मसमर्पण गरेका यहाँको प्रहरीले जनाएको छ ।
उनीहरूले १५५ थान घरेलु बन्दूकसहित त्यसका लागि प्रयोग हुने ३०० राउण्ड गोली र बन्दूक बनाउने उपकरणसहित प्रहरी प्रशासनसँग आत्मसमर्पण गरेका बताइएको छ ।
‘आत्मसमर्पणपछि प्रहरीले उनीहरूलाई नयाँ जीवन सुरू गर्न पुनःवास कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति ५० हजार टाका (५९० अमेरिकी डलर) उपलब्ध गराएका छौँ,’ प्रहरी प्रमुख मसुद होसैनले भने ।
सामुद्रिक डाँकूहरूले बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा हत्या, अपहरण, बलात्कार, जहाज तथा डुङ्गा अपहरण गरी यात्रुहरूलाई लुट्ने गरेका प्रहरीले जनाएको छ ।
उनीहरूलाई आम माफी नहुने तर सजायमा केही छुट हुनसक्ने होसैनले बताए । आत्मसमर्पणका लागि प्रशासनले गरेको कार्यक्रममा उनीहरूले आफूहरूलाई दुःख दिने गरेको स्थानीय माझीहरूले बताएका थिए ।
आत्मसमर्पण गरेका उनीहरूले सार्वजनिक कार्यक्रममा पूरानो काममा नफर्किने वाचा गरेका थिए ।
Facebook Comment