उपनिर्वाचन २०७६ : सुरक्षा व्यवस्था चुस्त

डिसी नेपाल
८ मंसिर २०७६ १४:२६

दाङ। आसन्न उपनिर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार उपनिर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनका लागि २२ स्थानमा अस्थायी सुरक्षा क्याम्प पनि राखिने भएको छ।

उनले निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको बताए। निर्वाचनको अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्र्पक कार्यालय, प्रचार अभियान तथा पार्टी कार्यालय सबैको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको पनि प्रजिअ रिजालले जानकारी दिए।

त्यस्तै सबै मतदानस्थलमा सुरक्षाकर्मीले सवारी साधन प्रयोग गरेर सुरक्षा गस्ती गर्नेछन् । सुरक्षा गस्तीका लागि २६ वटा सवारी साधन प्रयोग गरिनेछ। निर्वाचन हुने क्षेत्र दाङ निर्वाचन क्षेत्र नं ३ को २ र घोराही उपमहानगरपालिका–१६ मा अहिले पनि सुरक्षाकर्मीले गस्तीलाई तीव्र पारेका छन्।

निर्वाचनलाई स्वतन्त्र मर्यादित बनाउन र मतदाताहरुलाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउनका लागि आफूहरु गम्भीरका साथ लागिपरेको प्रजिअ रिजालले बताए। उनले सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात तथा सञ्चारको सुविधा नपुगेका र विगतका चुनावमा घटेका घटनालाई मध्यनजर गरी सुरक्षा संवेदशीलतालाई विश्लेषण गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको पनि उल्लेख गरे।

प्रजिअ रिजालका अनुसार दाङ निर्वाचन क्षेत्र नं ३ को (२) र घोराही उपमहानगरपालिका वडा नं १६ मा ३४ वटा मतदानस्थल निर्धारण गरिएकामा २६ वटा मतदानस्थल संवेदनशील, छ वटा स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ।

यसैबीच प्रजिअ रिजालको टोलीले हिजो विकट स्थानका रुपमा रहेको गङ्गटे, बाघखोर मतदानस्थलको निरीक्षण गरेका थिए। टोलीमा जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

उपनिर्वाचनका लागि ४०० भन्दा बढी कर्मचारी खटिने भएका छन्। यहाँका दुई स्थानमा हुने निर्वाचनका लागि कूल ३४ मतदानस्थलमा ८२ मतदान अधिकृत र ८२ सहायक मतदान अधिकृत, १६४ सहायक कर्मचारी र ८२ जना सहयोगी खटिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। त्यस्तै ३२६ स्वयम्सेवक पनि परिचालन हुनेछन्। निर्वाचनमा खटिने कर्मचारीहरुलाई आजदेखि दुई दिनसम्म प्रशिक्षण दिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *