बोल्ने बेला हैन काम गर्ने बेला हो : काँग्रेस महामन्त्री खड्का

डिसी नेपाल
८ मंसिर २०७६ १९:३०

भक्तपुर। नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बोलेरभन्दा पनि अहिले काम गरेर देखाउने समय आएको बताएका छन्।

मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई मत माग्न चाँगुनारायणको सुडाल र सरस्वती खेलको घरदैलो कार्यक्रममा उनले सरकारको आलोचना भइरहेको बेलामा काँग्रेसले बोल्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका हुन। उनले कार्यकर्ताहरुलाई समुदायसँग नजिक रहेर विकास निर्माणमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

महामन्त्री खड्काले सरकारले काम गर्न सकेन भनेर जनता निराश भएको बेलामा काँग्रेसले काम गरेर देखाउन सके जनताले फेरि काँग्रेसलाई पत्याउनेछन् भन्दै काँग्रेस एक ढिक्का भएर अगाडि बढेको बेलामा उपनिर्वाचनको नतिजा काँग्रेसको पक्षमा आउने विश्वास व्यक्त गरे।

काँग्रेस केन्द्रीय सदस्य कमला पन्तले दुई तिहाइको सरकारले प्रदेशको नाम र राजधानीसमेत तोक्न नसकेको टिप्पणी गर्दै उपनिर्वाचन कम्युनिष्ट कार्यशैलीको जनमत सर्वेक्षण भएको बताइन् ।

कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति जीवन खत्री, काँग्रेस केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्य, मतदाता र स्थानीयवासीको घरदैलामा सहभागिता थियो ।

काँग्रेसले दुवाकोट, सरस्वतीखेलमा पनि घरदैलो कार्यक्रम गरेको छ । काँग्रेसका केन्द्रीय सदस्य पन्त, काठमाडाँै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, क्षेत्रीय सभापति खत्रीलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्यले मतदाताको घरदैलोमा पुगेर नेपाली कांग्रेसलाइ मत दिन अपिल गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *