भाजपाका यी नेताले भने, ‘बजारमा जति पनि विधायक छन्’
नयाँदिल्ली (एजेन्सी) । भारतको महाराष्ट्रमा राजनीतिक घमासान चलिरहेको छ। निर्वतमान मुख्यमन्त्री तथा भाजपा नेता देवेन्द्र फणडवीसले शनिबार बिहानै मुख्यमन्त्रीको शपथ लिएपछि महाराष्ट्रको राजनीतिमा तरंग आएको छ।
शुक्रबार साँझसम्म शिवसेनाका नेता उद्धव ठाकरे काँग्रेस आई र एनसीपीको समर्थनमा मुख्यमन्त्री हुने लगभग पक्का जस्तै देखिएको थियो। तर, शुक्रबार राती भाजपाले यस्तो खेल खेल्यो जसले शनिबार बिहान महाराष्ट्रमा ‘कमल फुल्यो’। भाजपाले एनसीपीका विद्रोही नेता अजित पवारलाई उपमुख्यमन्त्री बनाउँदै सरकार बनयो।
हालै महाराष्ट्र विधानसभाको निर्वाचन हुँदा कुनै पनि दलले बहुमत ल्याउन सकेका थिएनन्। त्यसैले काँग्रेस आई, एनसीपी र शिवसेना मिलेर गठबन्धन सरकार बनाउने कशरतमा लागेका थिए। तर, एनसीपीकै नेताको सहयोगमा भाजपाले सरकार बनायो।
तर, एनसीपी अध्यक्ष शरद पवारले भाजपा सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको र उपमुख्यमन्त्री बनेका अजित पवारले पार्टी विभाजन गरेको बताएपछि भाजपा सरकारलाई बहुमत नपुग्ने देखिएको छ।
त्यसैले दलहरुले आ आफ्ना सांसदहरुको खरिदविक्री हुन सक्ने भन्दै होटलको कोठामा बन्द गरेर राखेका छन्। यहीबीचमा भाजपालाई बहुमत जुटाउने जिम्मेवारी पाएका भाजपा नेता नारायण राणेले ‘बजारमा जति पनि विधायक’ रहेको भन्दै राजनीतिक तरंग उत्पन्न गराई दिएका छन्।
उनले बीबीसीसँगको कुराकानीमा केही दलले विधायकलाई होटलमा राखेर बन्द गरे पनि धेरै विधायक बजारमा रहेको भन्दै उनीहरुले आफ्नो पार्टीको सरकारलाई समर्थन गर्ने दावी गरेका छन्।
जबकी काँग्रेस, एनसीपी र शिवसेनाका नेताहरुले भाजपाले आफ्ना विधायकहरुको खरिद गर्ने प्रयास गरेको आरोप लागइरहेका छन्। उनीहरुको आरोपलाई पुष्टि हुने गरी यी नेताले बजारमा जति पनि विधायक रहेको बताएका हुन्।
Facebook Comment