सरकारमाथि खनिए राजेन्द्र लिङदेन: राजा फालेको १३ वर्षमा देशले के पायो?

डिसी नेपाल
९ मंसिर २०७६ १९:४७

लमजुङ । राप्रपा महामन्त्री एवं प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्देनले लिपुलेक, कालापानी, लिम्पियाधुरा जस्ता नेपाली भूमि समेटेर भारतले नक्सा सार्वजनिक गर्दा पनि र आफूले प्रतिनिधित्व गर्ने देशका पूर्वी भाग लगायतका अधिकांश ठाउँमा सीमा रक्षाका लागि नेपाल सरकारले कुनै ठोस कदम नचाल्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनले राप्रपा कमजोर हुँदा राष्ट्रियता कमजोर हुने इतिहासले फेरि एकपटक प्रमाणित गरेको समेत दावी गरेका छन् ।

सोमबार राप्रपा लमजुङद्वारा सुन्दर बजार नगरपालिकाको परेवाडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री लिङ्देनले संसारको पुरानो राष्ट्र मध्ये एक नेपाल आज अरुसंग मागि खानुपर्ने देश बन्नुमा दोषी को? भन्दै प्रश्न गरे। उनले यसको कारण के हो भनेर जनताले खोजी गरिनुपर्ने बताएका छन्।

‘देशको विकास, समृद्धि र समुन्नतिको बाधक राजा र राजसंस्था भनियो तर आज राजालाई पाखा लगाइएको १३ वर्षमा देशले के पायो ?’ जनताले अब हिसाब माग्नुपर्ने बेला आएको पनि लिङ्देनले बताए।

निर्वाचन भएको दुई वर्षको अवधिमा कांग्रेस र कम्युनिस्टले जितेका अधिकांश ठाउँमा विकासको गति सुस्त रहेको, भ्रष्टाचार तल्लो तहसम्म फैलिएर गएको दृष्टान्त प्रस्तुत गर्दै उनले मतदाताले आसन्न उप निर्वाचनमा फेरि पनि असफल दललाई मतदान गरेर भ्रष्टाचारलाई अनुमोदन गर्ने छैनन् भन्ने विश्वास व्यक्त गरेका छन्।

राप्रपा गण्डकी प्रदेश अध्यक्ष हेमजङ गुरुङले एकपटक कांग्रेस वा कम्युनिस्टलाई मतदान गर्दैमा सधैं तिनैलाई मतदान गर्न आवश्यक नरहेको बताएका छन् । असफल कम्युनिस्ट र कमजोर प्रतिपक्ष कांग्रेसका कारण देशको अवस्था झन् दयनीय बन्दै गएको र आम युवामा निराशा छाएको भन्दै विकल्पको रुपमा राप्रपा जनताको छनौटमा पर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सहायक महामन्त्री विन्दु पौडेलले निर्मला पन्तको बलात्कार काण्ड भएको डेढ वर्ष भइसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु सरकारको कमजोरी रहेको बताउँदै महिला हिंसाका घटना दिनप्रतिदिन बढिरहँदा पनि सरकारबाट न्युनीकरणको दिशामा कुनै पहल नगरिनु आम नेपाली महिलाको लागि चिन्ताको विषय भएको बताएकी छिन्।

कार्यक्रममा राप्रपा गण्डकी प्रदेशका प्रवक्ता नवराज बसौला, प्रदेश सदस्य सुदीप ढकाल, रामचन्द्र अर्याल, सुन्दरबजार नगरपालिका वडा नं–२ का अध्यक्ष पदका उमेदवार पवन बसौलाले आसन्न उपनिर्वाचनमा राप्रपालाई मतदान गर्न परेवाडाँडाका स्थानीयलाई आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *