पोखरामा हुने १३ औँ सागमा १५९ पदकका लागि प्रतिष्पर्धा हुँदै

डिसी नेपाल
१० मंसिर २०७६ ७:३५

पोखरा । मङ्सिर १५ गतेदेखि हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा प्रतिष्पर्धा हुने आठ खेलमा कूल १५९ पदकका लागि खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।

तेह्रौँ सागको आठ खेलमध्ये आर्चरीमा ३०, ब्याड्मिन्टनमा २८, महिला क्रिकेटमा तीन, फुटबलमा तीन, ह्याण्डबलमा छ, ट्राइयाथोलन १५, बिच भलिबल छ, भारत्तोलनमा ६० गरी कूल १५९ वटा पदकका लागि प्रतिष्पर्धा हुने भएको छ।

त्यसैगरी आर्चरीमा १० स्वणर्, १० रजत र १० कास्य गरी ३० पदकका लागि प्रतिष्पर्धा हुँदैछ । ब्याटमिन्टनमा सात स्वर्ण, सात रजत र १४ कास्य, महिला क्रिकेटमा एक स्वर्ण, एक रजत र एक कास्य, ह्याण्डबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, ट्राइयाथोलन पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य, महिला बिच भलिबलमा एक स्वणर्, एक रजत र एक कास्य, भारत्तोलनमा समान २० स्वर्ण २० रजत र २० कास्य पदकका लागि प्रतिष्पर्धा हुँदैछ।

बहुप्रतिक्षितरुपमा रहेको साग शुरु हुनमात्र छ दिन बाँकी रहँदा पोखरामा मात्रै विभिन्न खेलका ८२४ जना खेलाडी तथा अफिसियल पोखरा आउँदैछन् ।

त्यसैगरी करीब ४९१ जना प्राविधिक र अफिसियल पोखरा आउने कार्यक्रम तय भइसकेको साग तयारी समितिका सदस्य तेज गुरुङले जानकारी दिए ।

विभिन्न देशबाट आउने पाहुनालदाई स्वागत सत्कार तथा बसोबासका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको होटल व्यवस्थापन समितिका संयोजक सूर्य भुजेलले जानकारी दिए ।

पोखरा रङ्गशालामा आयोजना हुने छ वटा खेलको विभिन्न खेल पूर्वाधारको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकी काम यसै साताभित्र पूरा गरिने राखेप सदस्य राजेशकुमार गुरुङले जानकारी दिए ।

पोखराबाहेक काठमाडौँ र जनकपुर गरी सञ्चालन हुने २८ खेलका लागि कूल एक हजार १११ पदकका लागि प्रतिष्पर्धा हुनेछन्।

सागका लागि सजिँदै रङ्गशाला

सागलाई भव्य र व्यवस्थितरुपमा सम्पन्न गर्न पोखरामा रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ। माछापुच्छेको काखमा रहेको रङ्गशालाको मुख्य प्रवेशद्वारदेखि नै सजावटको काम अघि बढाइएको छ।

पाहुनाको स्वागतका लागि आकर्षक पूर्वाधारसहित सजावटको कामलाई प्राथमिकतामा राखेर अघि बढाएको राखेप सदस्य राजेश गुरुङले बताए।

उनले भने, “हामी सुन्दर नगरी पोखरामा देश विदेशबाट आउने हाम्रा पाहुनाको स्वागत र सत्कार गर्न आतुर छौँ, उहाँहरुको स्वागत सत्कारका लागि सबै काम तीव्ररुपमा अघि बढेको छ।”

विदेशी खेलाडी तथा पाहुनालाई भव्य स्वागतका लागि समारोह समितिअन्तर्गत रहेको झाँकी व्यवस्थापन समितिले मङ्सिर १६ गते गण्डकी प्रदेशभित्र रहेका विभिन्न जातजातिको जातीय पोशाकसहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको सो समितिका संयोजक नीरज थापाले जानकारी दिए ।

रङ्गशालाका प्रोजेक्ट म्यानेजर दीपक बरालका अनुसार रङ्गशाला निर्माणको ९५ प्रतिशत काम सकिएको छ। अब सिन्थेकि ट्राकमा मार्किङ गर्ने र प्यारापिटमा कुर्ची जडानका साथै एक्सेस रोडको काम भइरहेको छ।

ब्याडमिन्टन हलको काम अन्तिम चरणमा

ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलका लागि निर्माण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिए ।

“ब्याडमिन्टनका लागि हल बनाउने काम सकिएको छ, अब म्याट बिछ्याउने र सरसफाइ गर्ने काम मात्र बाँकी छ”, उनले भने, “खेलाडीका लागि चाहिने पूर्वाधारसमेत सबै निर्माण भएको छ ।”

ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै चार वटा कोर्ट रहेको छ । तर प्रतियोगिताका लागि भने तीन वटा कोर्ट मात्र प्रयोग गरिनेछ ।

ब्याडमिन्टन खेलका लागि आवश्यक पर्ने म्याट भन्सारबाट हिँडिसकेको गुरुङले बताए । ब्याडमिन्टन हल निर्माणका लागि करीब साढे चार करोड रुपैयाँ खर्च लागेको उनको भनाइ छ।

ब्याडमिन्टनका लागि आयोजक राष्ट्र नेपालबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुनेछन् । जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन् भने विदेशीसहित पाँच जना प्रशिक्षक रहेका छन् ।

भारतबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागिता रहेको छ । ब्याडमिन्टनका लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागिता रहने जनाएको छ।

त्यस्तै पाकिस्तानबाट भने खेलाडी तथा प्रशिक्षक गरी १३ जनाको सहभागिता रहेको छ । जसमा पाँच पुरुष, पाँच महिला खेलाडी र तीन प्रशिक्षक रहेका छन् । बङ्गलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउनेछन् । जसमा छ पुरुष, छ महिला खेलाडी र चार प्रशिक्षकले सहभागिता रहने छन् ।

यसैगरी श्रीलङ्काबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछन् । जसमा सात पुरुष, सात महिला खेलाडी तथा तीन जना प्रशिक्षक रहेका छन् ।

भूटानबाट भने सात सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितामा सहभागी हुँदैछन् । जसमा चार पुरुष, दुई महिला खेलडी तथा एक प्रशिक्षकले सहभागिता जनाउने भएका छन् ।

माल्दिभसबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागिता जनाउनेछन् । जसमा छ पुरुष, छ महिला खेलाडी तथा पाँच प्रशिक्षक सहभागी हुनेछन् ।

पोखरामा हुने ब्याडमिन्टन मङ्सिर १५ देखि २० गतेसम्म सञ्चालन हुनेछ । टिम इभेन्टतर्फ मङ्सिर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन् भने मङ्सिर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन्।

त्यस्तै व्यक्तिगत इभेन्टतर्फ मङ्सिर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डबल र मिक्स डबलतर्फको प्रारम्भिक खेल हुनेछन् भने १८ गते महिला तथा पुरुष सिङ्गल र डबल्सको क्वाटरफाइनल खेल हुनेछ भने १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुनेछन । २० गते सबै इभेन्टका फाइनल खेल हुने बताइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *