महाराष्ट्रमा राजनीतिक नाटक : चार दिनमै ढल्यो भाजपा सरकार
नयाँ दिल्ली (एजेन्सी) । भारतको महाराष्ट्रमा बहुमत नभए पनि नाटकीय रुपमा मुख्यमन्त्रीको शपथ लिएका भाजपा नेता तथा निवर्तमान मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलबार राजीनामा दिएका छन् । मंगलबार सर्वोच्च अदालतले बुधबार संसदमा बहुमत देखाउन आदेश दिएसँगै उनले संसदमा फ्लोर टेष्ट अगाडि नै मंगलबार ‘आत्मशमर्पण’ गरेका हुन् ।
गएको शनिबार बिहानै फडणवीसले राष्ट्रवादी काँग्रेस (एनसीपी)का नेता अजित पवारको सहयोगमा सरकार बनाएका थिए । पवारले उपमुख्यमन्त्रीको शपथ लिएका थिए । तर, एनसीपीले अजित पवारले पार्टी भिभाजन गरेको र भाजपा नेतृत्वको ससरकारलाई समर्थन नगर्ने बताएको थियो । एनसीपी अध्यक्ष शरद पवारले भाजपा समर्थित सरकारले बहुमत प्राप्त गर्न नसक्ने शनिबारै बताएका थिए ।
महाराष्ट्रका २८८ सिट मध्ये भाजपाले १०५ सिटमा जित हात पारेको थियो भने एनसीपीले ५४, काँग्रेस आईले ४४ र शिवसेनाले ६५ सिटमा जित हात पारेका थिए । चुनावमा भाजपा र शिवसेनाले गठबन्धन बनाएर लडेका थिए भने काँग्रेस आई र एनसीपीले पनि गठबन्धन बनाएका थिए । चुनावी परिणाममा भाजपा–शिवसेना गठबन्धनले बहुमत ल्याएको थियो । तर, शिवसेना र भाजपाबीच सत्ता साझेदारीमा कुरा नमिलेपछि भाजपाले सरकार बनाउन सकेको थिएन । सरकार बनाउन नसकिने देखेपछि भाजपाका पूर्व नेता महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले महाराष्ट्रमा राष्ट्रपति शासन लगाउन सिफारिस गरेका थिए । उनको सिफारिस अनुसार त्यहाँ राष्ट्रपति शासन लगाइएको थियो ।
राष्ट्रपति शासन लगाइएपछि शिवसेना, काँग्रेस आई र एनसीपीले महागठबन्धन बनाउँदै सरकार बनाउने प्रयास गरेका थिए । गएको शुक्रबार बेलुका महागठबन्धनले सत्ता साझेदारी तथा न्यूनतम साझा कार्यक्रममा समेत सहमति गर्दै शिवसेना नेता उद्धव ठाकरेको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । तर, एकाएक शनिबार बिहानै भाजपा नेता तथा निवर्तमान मुख्यमन्त्री फडणवीसले मुख्यमन्त्रीको शपथ लिएपछि महाराष्ट्रको राजनीतिमा नाटकीय घटनाक्रमको पटाक्षेप भएको थियो ।
त्यसपछि काँग्रेस आई, एनसीपी र शिवसेनाले सर्वोच्च अदालतमा फडणवीसको शपथ ग्रहण विरुद्ध रिट हालेका थिए । सो रिटमाथि सुनुवाई गर्दै मंगलबार सर्वोच्च अदालतले बुधबार बेलुका पाँच बजेसम्म संदमा बहुमत सावित गर्न आदेश दिएको थियो । यहीबीचमा सोमबार तीन दलले मुम्बईको एक होटलमा १६२ जना विधायक आफ्नो पक्षमा रहेको भन्दै फडणवीसले बहुमत हासिल गर्न नसक्ने घोषणा गरेका थिए । फडणवीस संसदमा बहुमत परीक्षण हुनबाट जोगिने प्रयासमा थिए । तर, सर्वोच्चले उनको अनुसार आदेश नदिएपछि उनले मंगलबारै राजीनामा घोषणा गरेका हुन् ।
Facebook Comment