चितवनमा उपनिर्वाचनको तयारी पूरा

डिसी नेपाल
११ मंसिर २०७६ १२:२६

भरतपुर । जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । यही मङ्सिर १४ गते भरतपुर महानगरपालिका–१६, खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत आज निर्वाचन केन्द्रमा खटिएका छन् ।

कूल ७५ जना कर्मचारी छनोट भई केन्द्रमा खटिँदै छन् । ती सबैले प्रशिक्षण लिइसकेका छन् । मतदान अधिकृतले निर्वाचन केन्द्रमा आवश्यक थप ६० जना स्वयंसेवक नियुक्त गर्ने छन्।

मतदान केन्द्रमा आज निर्वाचनसम्बन्धी जानकारीको सूचना टाँस गरिने छ । ढकालले बिहीबार र शुक्रबार केन्द्रबाट मतदाता परिचयपत्र वितरण गरिने छ भने सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गरिने जानकारी दिए ।

जिल्लाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत हेमन्त रावल नियुक्त भएका छन् । उनले भरतपुर महानगरपालिका–१६ को निर्वाचनसमेत हेर्नेछन् । खैरहनीका लागि निर्वाचन अधिकृत विद्याराज पौडेल नियुक्त भएका छन् । निर्वाचन क्षेत्रका लागि सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा ८ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं– ५ मा दुई हजार १११ मतदाता रहेका छन्। तीन वटा वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *