फिल्म उद्योगकी अर्की नम्रता श्रेष्ठ, भन्छिन् –पहिचानको लागि संघर्षरत छु
काठमाडौं। नेपाली फिल्म उद्योगमा नम्रता श्रेष्ठ नाम गरेका दुई अभिनेत्री छन्। एक चर्चित अभिनेत्री हुन्। अर्की, फिल्ममा करिअर बनाउँदै गरेकी अभिनेत्री।
यहाँ कुरा गर्न खोजिएको छ, फिल्ममा करिअर बनाउँदै गरेकी नम्रताको। उनले फिल्म ‘गाँठो’बाट अभिनय यात्रा सुरु गरेकी हुन्। त्यसयता उनको दोस्रो फिल्म ‘जानी नजानी’ प्रदर्शनमा आईसकेको छ। तर, यी दुबै फिल्मले गतिलो ब्यापार गर्न नसक्दा नम्रता दर्शकमाझ नोटिस हुन् सकिनन्।
अब, उनको तेस्रो फिल्म ‘माछा माछा’ यही मंसिर २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। फिल्ममा नम्रताले अभिनेता सौगात मल्लसंग जोडी बाँधेकी छन्। दुई फिल्मबाट असफलता भोगेकी उनी यो फिल्मबाट धेरै नै आशावादी छिन्। नम्रता श्रेष्ठ भन्नासाथ दर्शक तथा फिल्मकर्मीले अर्की अभिनेत्री सोँच्ने भएका कारण आफ्नो पहिचान बनाउन पनि उनलाई उत्तिकै चुनौती परिरहेको छ।
फिल्म ‘माछा माछा’ले आफूलाई दर्शकको ठूलो वर्गमाझ ‘नोटिस’गराउँदै पहिचान दिलाउने उनको विश्वास छ।
मंगलबार राजधानीमा पत्रकारसंगको भेटमा उनले भनिन् –‘धेरै जना झुक्किनुहुन्छ। डबल नामको कुरा जहाँपनि आउँछ। आफूलाई चिनाउँदा–चिनाउँदा दिक्दार भैसकेकी छु। ‘माछा माछा’ले त्यसबाट छुटकारा दिनेमा आशावादी छु।’
नम्रतालाई नम्रताकै थ्रेट हो? ‘‘थ्रेट’ म भन्दिन्। मात्र, मानिसहरु नाममा कन्फूज हुनुहुन्छ। उहाँका कारण मेरो पहिचानमा भने बाधक बनेको जस्तो लाग्दैन्’– पत्रकारको प्रश्नको जवाफमा नम्रता भन्छिन्।
‘काम गरेपछि दर्शकले आफ्नो अभिनयलाई रुचाओस्। आफ्नो पहिचान बनोस् भन्ने सोँच हुन्छ। मैले हरेक फिल्ममा सक्दो कोशिस गरिरहेकी छु। आफ्नो पहिचान बनाउने मेरो कोशिस हो’– उनी अगाडी थप्छिन्।
आफू अभिनित फिल्म चल्न नसक्दा स्वयंमलाई कहिलेकाँही ‘अनलक्की’ पनि लाग्ने रहेछ। उनले आफैलाई प्रश्न गरिन्, –‘म ‘अनलक्की’ भनौंकी मलाई स्किृप्ट चुज गर्न नआएको होकी?’
‘माछा माछा’मा राम्रो टिमसंग काम गर्न पाएकोमा नम्रता खुःसी र आशावादी देखिन्छन्।
सुनिल गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सौगात, नम्रताको साथमा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ।
सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्मित ‘माछा माछा’को निर्मातामा रामबाबु गुरुङ्ग र दयाहाङ राई छन्।
-तस्वीर सौजन्य : प्रदीप कंडेल
Facebook Comment