कूटनीतिक उपस्थितिमा अमेरिकालाई उछिन्दै चीन पहिलो
बिबिसी । पहिलो पटक चीनको संसारमा सबैभन्दा धेरै कूटनीतिक उपस्थिति भएको एक अस्ट्रेलियाली संस्थाले जनाएको छ ।
लोयी इन्स्टिट्युटका अनुसार सन् २०१९ मा संसारभर चीनको राजदूतावास र अन्य कूटनीतिक कार्यालयहरूको सङ्ख्या २७६ पुगेको छ, जुन अमेरिकाको भन्दा धैरै हो ।अमेरिकाको संसारभर २७३ त्यस्ता कार्यालय छन् भने त्यसपछि क्रमशः फ्रान्स, जापान र रुस छन् । यूके एघारौँ स्थानमा छ ।
सो प्रतिवेदनमा राजदूतावास, उच्च आयोग र वाणिज्य दूतावासहरू गणना गरिएका छन् र यसका अध्ययनकर्ताहरूले यो अङ्कले भूराजनीतिक पहुँचको शक्ति र कमजोरी देखाउने बताएका छन् ।
संसारभर कूटनीतिक उपस्थिति
चीनको कूटनीतिक उपस्थिति हालैका वर्षहरूमा तीव्र गतिमा बढेको हो । सन् २०१६ मा अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको चीन सन् २०१७ मा दोस्रो स्थानमा पुगेको थियो ।
अमेरिकाको पनि सन् २०१६ यता दुई स्थानमा कूटनीतिक उपस्थिति थपिएको छ । यूकेको भने यो अवधिमा कूटनीतिक उपस्थिति कम भएको छ । सन् २०१६ मा २१६ स्थानमा रहेको यूकेको उपस्थिति अहिले २०५ स्थानमा मात्रै छ ।
दक्षिण एशियाली मुलुकहरूमा भने सबैभन्दा बढी कूटनीतिक उपस्थिति भारतको छ, जसको विश्वमा १८६ स्थानमा कुटनीति कार्यालय छन् । पाकिस्तानको ११७ स्थानमा, बाङ्ग्लादेशको ७५ र श्रीलङ्काको ६७ स्थानमा कूटनीतिक उपस्थिति छ ।
प्रतिवेदनका अनुसार नेपालको ३९ स्थानमा कूटनीतिक उपस्थिति छ जुन सन् २०१६ भन्दा तीनवटा बढी हो ।
Facebook Comment