नेपाल–भारत पारवहन बैठक : जलमार्गदेखि पानीजहाज सञ्चालनसम्मको विषय समावेश
काठमाडौं । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग, बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रक्रिया, भन्सार सहजीकरण र नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने विषयलाई समावेश गरिने भएको छ ।
नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकनको लागि बुधबार सम्पन्न वाणिज्य सहसचिवस्तरीय दुई दिने बैठकमा उक्त सहमति भएको हो । त्यस्तै रेल मार्फत बल्क कार्गो ढुवानीका लागि वीरगञ्ज–रक्सौल नाकाका अतिरिक्त विराटनगर–जोगबनी र भैरहवा–सुनौली नाका समेत खुल्ला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।
भारतका २ बन्दरगाहहरु धाम्रा र मुन्द्रा नेपालका लागि खुल्ला गर्न गरेको प्रस्तावमा भारतले आन्तरिक छलफल गरी जवाफ पठाउने सहमति भएको पनि ढकालले बताए । त्यस्तै तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रक्रिया लागू गर्ने विषयमा पनि भारतले आन्तरिक छलफल गरी धारणा पठाउने सहमति भएको छ ।
त्यस्तै नेपाल–भारत पारवहन सन्धिको म्याद २०२० जनवरी ५ देखि लागू हुनेगरी स्वतः नविकरण हुने र दुवै मुलुकले आन्तरिक प्रक्रिया पूरा गरी प्रोटोकलमा थयासीघ्र हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।
Facebook Comment