बैतडीमा आजदेखि मतदाता परिचयपत्र वितरण शुरु

डिसी नेपाल
१२ मंसिर २०७६ १०:४३

बैतडी । उपनिर्वाचन हुने बैतडीका तीन वडामा आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ। दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट आज र भोलि दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए ।

दोगडाकेदार गाउँपालिका–४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ। त्यस्तै सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको छ।

यस्तै पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थल तोकिएको छ।

विसं २०७४ मा आफ्नो मतदाता परिचयपत्र लैजान छुटेका तथा यही वर्षको साउन १६ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको परिचयपत्र वितरण भइरहेको हो।

मतदानमा सहभागी हुन अनिवार्य रहेकाले आ–आफ्नो मतदाता परिचयपत्र लिन हुन जिल्ला निर्वाचन कार्यालय बैतडीले सबैमा अनुरोध गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *