तेह्रौँ साग : अग्रिम टिकट बिक्री आजदेखि
पाेखरा। तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्न दर्शकका लागि आजदेखि टिकट बिक्री शुरु गरिने भएको छ। मङ्सिर १५ गतेदेखि यहाँ हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले टिकट बिक्री गर्न लागेको हो।
सागमा कास्कीको पोखरामा आठ खेल हुँदैछन्। टिकट व्यवस्थापनको जिम्मा स्रोतसाधन परिचालन समितिले लिएको छ। साधारणतर्फ रु १०० र सिजनलतर्फ रु ५०० टिकट दर कायम गरिएको समितिका संयोजक सञ्जीवबहादुर कोइरालाले जानकारी दिए। यसैगरी बिच भलिबलको टिकट दर रु २०० तय गरिएको छ। पोखराको विभिन्न ठाउँको चोकमा १४ टिकट बिक्री कक्ष राखिएको छ।
पोखरामा हुने विभिन्न आठ खेलका लागि ८४० खेलाडी तथा अफिसियल पोखरा आउँदैछन्। पोखरामा महिला फुटबल र क्रिकेट, बीच भलिबल, भारोत्तोलन, ह्याण्डबल, ट्रायथलन, आर्चरी र ब्याडमिन्टन खेल हुनेछ। नेपालले स्वर्ण आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ।
पोखरास्थित रङ्गशालामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, ह्याण्डबल र धनुकाण खेल हुनेछन् भने भारोत्तोलन पोखरा–१२ माटेपानीमा तथा ट्रायथलन र बिच भलिबल लेकसाइडमा हुने साग खेल प्रचारप्रसार समितिका संयोजक केशव पाठकले जानकारी दिए।
ट्रायथलनको तयारी अन्तिम चरणमा
तेह्रौँ सागअन्तर्गत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भइसकेको र आवश्यक सामग्री सबै खेलस्थलमा पुगिसकेको जिल्ला ट्रायथलन सङ्घका सचिव प्रकाश बरालले जानकारी दिए।
फेवातालमा पौडीका लागि प्लाष्टिकका ब्लक हाल्ने काम सकिएको छ। यहाँ पुरुष र महिला पौडी, २० किलोमिटरको साइक्लिङ र पाँच किलिमिटरको दौड हुनेछ। प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ।
Facebook Comment