विशेष अवस्थामा निर्भिकताकासाथ अझै उत्कृष्ट सेवा प्रदर्शन गर्नुपर्छ : महानिरीक्षक खनाल

डिसी नेपाल
१३ मंसिर २०७६ १३:५३

काठमाडौं।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता तथा उपनिर्वाचन हुन गइरहेको विशेष अवस्थामा प्रहरी अधिकृत तथा जवानहरुले पूर्ण निर्भिकताकासाथ अझै उत्कृष्ट सेवा प्रदान गर्दै आफ्नो कार्यकौशलता प्रदर्शन गर्नुपर्ने बताएका छन्।

यही मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तथा केही स्थानमा सम्पन्न हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन एवं समसामयिक विषयमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार महानगरीय प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।

राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्दै आएको नेपाल प्रहरी कुनै पनि चुनौतीको सामना गर्न सक्षम रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले विगतका अनुभव एवम् अभ्यासहरुको उपयोग गर्दै थप संवेदनशिल भई व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिए। अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता नेपालमा आयोजना भएको यस विशेष अवस्थामा सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरको रुपमा लिई अत्यन्त शिष्ट व्यवहार, आचरण एवम् आफ्नो टर्नआउटमा ध्यान दिई जिम्मेवारी वहन गर्नुपर्नेमा उनले जोड दिए।

प्रहरीको मुख्य जिम्मेवारी समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले विगतमा प्रदर्शन गरेको कार्यदक्षता एवम् कार्यकौशलताको अन्तर्राष्ट्रियस्तरमा समेत उच्च मूल्याङ्कन भएको चर्चा गरे। आफ्नो कार्यकौशलतालाई अझै परिमार्जन र स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत प्रहरीको छवि उच्च बनाउने गरी प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए।

प्रहरी महानिरीक्षक खनालले प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले कुनै पनि किसिमको सम्झौता नगरी त्रुटिरहित तरिकाले आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। सबै सुरक्षा निकायहरुसँग समन्वय गरी प्रतियोगिता अवधिभर विशेष अतिथिहरु तथा खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेलमैदानका साथै ट्राफिक व्यवस्थापनमा समेत उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई उहाँले निर्देशन दिए। सम्भावित घटना तथा अवान्छित गतिविधिहरुको पहिचान गरी सूचना संकलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउन थप उर्जाका साथ खटिनुपर्ने उनले चर्चा गरे।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, महानगरीय प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *