दक्षिणपूर्वी एशियाली क्षेत्रीय खेल प्रतियोगिताको आयोजना अस्तव्यस्त, खेलाडीहरु भुइँमा सुत्न बाध्य
हावर्ड जोन्सन
बीबीसी । ओलिम्पिक वा फिफा विश्वकप जस्तै चर्चित नभए पनि दक्षिणपूर्वी एशियाली खेलकुद (एसईए गेम्स्) त्यस क्षेत्रका लागि निकै महत्त्वपूर्ण छन्।
ती खेलहरूलाई आयोजक राष्ट्रको खेलप्रतिको आकर्षण र रणनीति अनि खेलाडीहरूका लागि विश्व प्रतिस्पर्धाका लागि तयारी गर्ने अवसरका रूपमा लिने गरिन्छ। यस वर्षको एसईए गेम्स् आयोजक फिलिपिन्समा भने खेलहरूको आयोजना सम्बन्धी कामहरू राम्ररी भइरहेका छैनन् भन्ने देखिन पुगेको छ।
यसै सप्ताहान्तमा आयोजना हुने ३०औँ एसईए गेम्स्को प्रचारप्रसार विवादको घेरामा तानिन पुगेको छ। अनियमित रूपमा गरिएको खर्च, निर्माण नसकिएको खेलस्थल र खेलाडीहरूमाथि गरिएको एकदमै खराब व्यवहारका कारण यो खेलको आयोजना विवादमा परेको हो।
बन्दोबस्तीको कमजोरीका कारण खेलका लागि आएका खेलाडीहरू भुइँ वा विमानस्थलका मेचहरूमा सुतिरहेका तस्बिरहरूले सामाजिक सञ्जालहरू रङ्गिएका छन्। सामाजिक सञ्जालमा ‘एसईएगेम्सफेल’ नामक ह्यासट्याग ट्रेन्डिङमा आएको छ।
सिङ्गापुरको प्रतिनिधिमण्डलका प्रमुखले एउटा पत्र लेखेर खेलकुद आयोजकलाई सुरुमा भोग्नुपरेका समस्याहरू समाधान गर्न आग्रह गरेका छन्। उनले खाना चिसो भएको देखि आफ्ना मुस्लिम खेलाडीका लागि हलाल खानेकुरा नभएको सम्मका गुनासो गरेका छन्।
मनिलाको कुनै स्थानमा लिइएको एउटा भिडिओमा हालै पुनर्निर्माण गरिएको स्टेडियममा कामदारहरूले एउटै कक्षमा दुइटा शौचालय बनाएको देखाइएको छ। त्यो भिडिओलाई लाखौँ पटक हेरिसकिएको छ।
फिलिपिन्सको खेलकुद आयोगले एन्गेल मोभिदो नामक एकजना पत्रकारलाई झूटो भिडिओ देखाएको आरोप लगाएको छ। उनी एबीएस–सीबीएन समाचार सञ्जालमा काम गर्छन्।
उनीहरूले उक्त भिडिओ केही समयअघि खिचिएको दाबी गरेका छन्। यी आरोपहरूले फिलिपिन्स सरकारलाई असन्तुष्ट बनाइदिएको छ। राष्ट्रपति रोड्रिगो डुटेर्टेले खेल समाप्त भएपछि एउटा अनुसन्धान गर्ने सङ्केत गरेका छन्।
आयोजक समितिले भनेको खेल सकिएपछि गलत खबर फैलाइएको बारे पनि अनुसन्धान हुने बताएको छ। आयोजक समितिका अध्यक्षले खेलाडीहरूलाई भएको असुविधाका लागि माफी मागेका छन् तर उनले सञ्चारमाध्यमहरूमा खेल तयारी अस्तव्यस्त भएको भनिएकोलाई धेरै महत्त्व दिएका छैनन्।
यो साता पत्रकारहरूले खेलको समाचार सङ्कलनका लागि उनीहरूलाई अनुमति लिन पनि असहज भएको गुनासो गरेका थिए। राष्ट्रपतिका प्रवक्ताले चाहिँ खेलाडीहरूले असुविधा हुन्छ भनेर चिन्ता लिन नपर्ने बताएका छन्।
Facebook Comment