मन्त्री नेम्वाङले गरे पाँचथरको फिदिम माविबाट मतदान

डिसी नेपाल
१४ मंसिर २०७६ ९:४९

फिदिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गरेका छन्।

रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो। मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपूर्व उनले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिएका थिए । मतदानपूर्व उनले वडाध्यक्ष पदका उम्मेदवारहरुलाई विजयको शुभकामनासमेत दिएका थिए।

त्यसैगरी, तीन स्थानमा उपनिर्वाचन हुन लागेको पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ।

जिल्लाको फाल्गुनन्द गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ।

बिहान ७ बजेदेखि निर्धारित समयमा जिल्लाका १७ वटै मतदानस्थलका ३१ वटै मतदान केन्द्रबाट मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए ।

मतदानका लागि सबै मतदान केन्द्रमा मतदाता लाममा लागिसकेका छन् । निर्वाचनमा जिल्लाको कुनै पनि स्थानमा कुनै प्रकारको समस्या र अवरोध नरहेको प्रमुख जिल्ला अधिकारी वस्तीले बताए ।

निर्वाचनको सुरक्षार्थ करीब एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। पाँचथरमा उपनिर्वाचन हुने तीन स्थानमा १५ हजार ८०० मतदाता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *