भक्तपुरमा भारी मतले कांग्रेसको अग्रता
काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा भक्तपुर १ (क) मा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भंडेलले भारी मतको अग्रता लिएका छन् । कांग्रेसका भंडेलभन्दा नेकपाका ढकाल ३ हजार १ सय ७० मतले पछि छन् ।
कांग्रेसका भँडेलले ८ हजार ८ सय १ मत प्राप्त गर्दै भारी अग्रता लिएका छन् भने उनका प्रतिद्धन्दी सत्तारुढ दल नेकपाका उम्मेद्वार देवी प्रसाद ढकालले ५ हजार ६ सय ३१ मत पाएका छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार निरज लवजुले १ हजार ९ सय ५१ मत पाएका छन् ।
यसअघि तत्कालिन नेकपा (एमाले) का उम्मेद्वार हरिशरण लामिछाने विजयी भएका थिए । उनको गत वैशाख ३१ मा हृदयघातबाट निधन भएपछि प्रदेशसभा सदस्य पद रिक्त रहेको थियो ।
भक्तपुर १ (क) काँग्रेस, नेकपा र नेमकिपाका उम्मेद्वारहरुसहित प्रदेशसभा सदस्य पदका लागि १९ जना चुनावी मैदानमा छन् ।
नेकपाबाट देवी प्रसाद ढकाल, नेपाली कांग्रेसका कृष्णलाल भंडेल, नेमकिपाका निरज लवजु, साझा पार्टीका सुरज प्रधान, समाजवादी पार्टी नेपालका सुर्दशन कुमार मनकर्मी, राप्रपाका श्याम प्रसाद नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, नेकपा (माले) का सुर्दशन लामिछाने र नेपाली काँग्रेस (विपी) का मधुसुधन न्यौपानेले चुनावी मैदानमा छन् ।
यस्तै स्वतन्त्र १० उम्मेद्वारहरुमा कृष्ण प्रसाद ह्योमो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखाकर्मी, राकेश सुवाल, सुमन कार्की, जीवन चन्द्र अधिकारी, संगीता पौडेल आचार्य र सुजता देउजा मैदानमा छन् ।
Facebook Comment